वीरगन्ज :

पोखरिया नगरपालिकामा खरिद प्रक्रिया मिचेर ३५ लाखभन्दा बढीको औषधि खरिद

श्रेणी : BANNER

43 minutes
Pradeep Sah
1.8kViews
1522 Shares

वीरगन्ज,०५ जेठ । पोखरिया नगरपालिका ले आर्थिक वर्ष २०८०/८१ मा औषधि तथा सर्जिकल सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीको पूर्ण पालना नगरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालय द्वारा सार्वजनिक वार्षिक प्रतिवेदनले नगरपालिकाले खरिद प्रक्रिया व्यवस्थित नगरी लाखौँ रुपैयाँ खर्च गरेको उल्लेख गरेको हो।

प्रतिवेदनअनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ उपनियम १(क) अनुसार २० लाख रुपैयाँसम्मका औषधिजन्य सामग्री उत्पादकसँग सोझै खरिद गर्न सकिने व्यवस्था भए पनि नगरपालिकाले विभिन्न कोटेसनमार्फत खरिद प्रक्रिया सञ्चालन गरेको देखिएको छ।

महालेखाले नगरपालिकाले औषधि खरिदका लागि आवश्यक वार्षिक खरिद योजना तयार नगरेको, आपूर्ति हुने औषधि तथा सामग्रीको स्पष्ट विवरण नराखेको तथा मौज्दात र प्रयोगको एकीकृत अभिलेख व्यवस्थित नगरेको औँल्याएको छ।

त्यसैगरी स्टोर दाखिला गर्नुअघि आपूर्ति गरिएका औषधि तथा सर्जिकल सामग्री तोकिएको स्पेसिफिकेसनअनुसार छन् वा छैनन् भन्ने परीक्षणसमेत नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। महालेखाले औषधि खरिद, उपयोग र मौज्दात व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित बनाउन सुझाव दिएको छ। प्रतिवेदनअनुसार नगरपालिकाले विभिन्न फर्ममार्फत औषधि तथा सर्जिकल सामग्री खरिद गर्दा कुल ३५ लाख ७ हजार ४ सय ६९ रुपैयाँ भुक्तानी गरेको देखिएको छ।

भुक्तानी पाएका संस्थामध्ये डायनामिक सर्किजल हब लाई सर्जिकल सामग्रीबापत ५ लाख ११ हजार ७०० रुपैयाँ, पशुपतिनाथ आयुर्वेद भवन प्रालि लाई आयुर्वेद औषधिबापत ७ लाख ९१ हजार ५७० रुपैयाँ, शिव मेडि कन्सर्न लाई औषधि खरिदबापत १९ लाख ५६ हजार ३०५ रुपैयाँ तथा इलाइट मेडिहेल्थ कन्सर्न प्रालि लाई १ लाख ४८ हजार ८९४ रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ।

महालेखापरीक्षकको कार्यालयले भविष्यमा यस्ता खरिद प्रक्रियालाई प्रतिस्पर्धी, पारदर्शी र नियमसम्मत बनाउन आवश्यक सुधार गर्न नगरपालिकालाई सुझाव दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *