वीरगन्ज :

धोबीनी गाउँपालिकाको बजेट ३१ करोड ७ लाख ९७ हजार पारित

श्रेणी : अर्थ

2 hours
Pradeep Sah
1.7kViews
1795 Shares

वीरगंज (पर्सा), १५ असार । पर्साको धोबीनी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभा आइतबार सम्पन्न हुँदै आगामी आर्थिक वर्षका योजना तथा बजेट अनुमोदन गरिएको हो ।

धोबीनी गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले गरेका थिए । गाउँसभामा उपाध्यक्ष मञ्जु देवी पटेलको निर्देशनअनुसार प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले आगामी आर्थिक वर्षका लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए, जसलाई सभाले पारित गरेको हो ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष चौहानले स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई गाउँपालिकाको प्रमुख प्राथमिकतामा राखिएको बताए । उनले राजनीतिक कारणले गाउँसभा निर्धारित समयमा हुन नसकेको स्वीकार गर्दै त्यसका कारण विकास निर्माणका काम तथा सेवाप्रवाह प्रभावित भएको उल्लेख गरे । अब भने विकास निर्माणका योजना तथा जनताका कामकारबाहीलाई तीव्र, सहज र प्रभावकारी बनाइने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत खतिवडाले गाउँपालिकाको प्रशासनलाई पारदर्शी, स्वच्छ र सेवामुखी बनाउने लक्ष्यकासाथ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले धोबीनी गाउँपालिकालाई नमुना स्थानीय तहका रूपमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

अध्यक्ष मदन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष मञ्जु देवी कुर्मिन, वडाध्यक्षहरू बन्धु साह तेली, देवेन्द्र पटेल, राजकिशोर पटेल, अब्बास मियाँ चुरिहार र मनाउर मियाँ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्यामकिशोर पटेल, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, महिला सदस्य तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, इन्जिनियर रविभूषण पटेल, योजना शाखा प्रमुख पप्पु पटेल, लेखापाल सोनु कुमार सोनी, जिन्सी प्रमुख प्रदीप पटेल, प्रशासन शाखा प्रमुख प्रदीप गुप्ता, स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव, महिला तथा बालबालिका शाखा प्रमुख संजय यादव, रोजगार शाखा प्रमुख दिलिप कुमार पटेल, कृषि शाखा प्रमुख रविन्द्र शर्मा, पत्रकार तथा सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख संजय यादवले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *