वीरगन्ज :

ट्रेड युनियन र विद्यार्थी संगठन खारेजी राजनीतिक कदम होइन : प्रधानमन्त्री बालेन

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.8kViews
1928 Shares

काठमाडौं,२२ वैशाख ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कुनै पनि राजनीतिक दलविरुद्ध लक्षित नभएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री बालेनले यो निर्णय प्रणाली सुधार र संस्थागत सुदृढीकरणका लागि गरिएको बताएका छन्। उनका अनुसार देशलाई दलगत प्रभावबाट मुक्त गर्दै प्रशासनिक प्रणालीलाई व्यवस्थित बनाउनु सरकारको उद्देश्य हो।

‘यो कुनै पार्टीविरुद्धको लडाइँ होइन, यो प्रणाली बचाउने प्रयास हो,’ प्रधानमन्त्रीले लेखेका छन्। उनले शिक्षा क्षेत्र र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट जोगाउन यो कदम आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले विभिन्न क्षेत्रका व्यक्तिहरू—नेता, अभियन्ता, पत्रकार, व्यवसायी तथा आम नागरिकसँग सहयोग र विश्वासको अपेक्षा गरेका छन्। उनका अनुसार सरकारले जनचाहना अनुसार नै सुधारका कदम अघि बढाएको हो।

उनले भनेका छन्, ‘परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी आम नेपाली जनताको हितका लागि काम गरिरहेका छौं।’

सरकारको निर्णयले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता मजबुत बनाउने दाबी गर्दै प्रधानमन्त्रीले अब नियुक्ति, सरुवा र बढुवामा दलगत प्रभाव होइन, क्षमता र दक्षता आधार बन्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *