वीरगन्ज :

गृहमन्त्रीमा सुधन गुरुङको पुनरागमन तयारी, आजै शपथ सम्भावना

श्रेणी : प्रदेश

9 hours
Pradeep Sah
2.0kViews
1992 Shares

काठमाडौं,२६ जेठ । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः सोही जिम्मेवारीमा फर्किने तयारी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई फेरि गृहमन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार आज दिउँसो करिब ३ बजे शपथ गराउने तयारी भइरहेको छ। शपथका लागि आवश्यक व्यवस्थापन मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपतिको कार्यालयलाई जानकारी गराइसकेको बताइएको छ।

यसअघि गुरुङले आफ्नो सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनको सम्पत्तिको छानबिन गर्न समिति गठन गरेको थियो।

छानबिन समितिले २२ जेठमा बुझाएको प्रतिवेदनमा गुरुङको सम्पत्तिमा कुनै गम्भीर कैफियत नदेखिएको निष्कर्ष निकालेको छ। बरु प्रतिवेदनमा प्रणालीगत कमजोरी र सुधार गर्नुपर्ने पक्षहरू औंल्याइएको बताइएको छ।

यता मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन ग्रहण गर्ने निर्णय गरिसकेको छ। यद्यपि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रतिवेदन अध्ययनपछि मात्रै आवश्यक निर्णय हुने बताएका छन्।

समिति स्रोतका अनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको पुष्टि भएको छ भने अन्य जग्गा बुवा तथा हजुरबुवाको नाममा रहेको पाइएको छ। सम्पत्ति विवरणमा पारिवारिक सम्पत्तिसमेत समेटिँदा केही अन्तर देखिएको समितिको निष्कर्ष छ।

यससँगै छानबिन प्रतिवेदनले क्लिन चिट दिएपछि गुरुङलाई पुनः गृहमन्त्रीमा फर्काउने तयारी तीव्र बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *