वीरगन्ज :

चौहान समुदायको छुट्टै पहिचानको मागसहित सरकारलाई ज्ञापनपत्र

श्रेणी : BANNER

49 minutes
Pradeep Sah
2.5kViews
1163 Shares

वीरगन्ज,०१ असार । पर्साकाे वीरगन्जस्थित श्री नेपाल चौहान कल्याण समाजले चौहान जातिलाई अल्पसंख्यक समुदायको रूपमा सूचीकृत गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

समाजले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत उक्त ज्ञापनपत्र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पठाएको हो। वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा केन्द्रीय कार्यालय रहेको समाजले चौहान समुदायको स्पष्ट पहिचान सुनिश्चित गर्दै राज्यका अभिलेखमा अलग्गै सूचीकृत गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

जातीय सूचीकृत अभियानका संयोजक चन्देश कुमार चौहानका अनुसार पर्सा जिल्लाका विभिन्न पालिकामा करिब पाँच हजारभन्दा बढी चौहान समुदायका व्यक्तिहरू बसोबास गर्दै आएका छन्। तर सरकारी जनगणना, नागरिकता तथा अन्य आधिकारिक कागजातमा स्पष्ट पहिचान नहुँदा राज्यबाट प्राप्त हुने सेवा–सुविधा र अवसरबाट वञ्चित हुनुपरेको उनले बताए।

ज्ञापनपत्रमा राष्ट्रिय समावेशी आयोगले गरेको जातीय वर्गीकरण प्रक्रियामा चौहान जातिलाई अन्य समूहमा राखिएकोप्रति आपत्ति जनाइएको छ। यसले संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्व र मौलिक हक कार्यान्वयनमा बाधा पुगेको समाजको दाबी छ।

त्यस्तै, “मधेसी समुदायको थर सूचीकरण–२०७८” मा चौहान थर उल्लेख भए पनि सरकारी तथ्यांक प्रणाली तथा जनगणना सफ्टवेयरमा अन्य जातिअन्तर्गत राखिएकाले त्यसलाई सच्याएर छुट्टै अल्पसंख्यक समुदायका रूपमा मान्यता दिनुपर्ने माग गरिएको छ।

समाजले चौहान समुदायको पहिचान, प्रतिनिधित्व, पहुँच, सांस्कृतिक संरक्षण तथा अधिकार सुनिश्चितताका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले ज्ञापनपत्र सम्बन्धित निकायमा शीघ्र पठाइने प्रतिबद्धता जनाएका छन्।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा कार्यवाहक अध्यक्ष अवधबिहारी प्रसाद चौहान, अधिवक्ता हरिशंकर चौहान, अधिवक्ता राजेन्द्र चौहान, आशा चौहान, लखनलाल चौहानलगायत समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *