सिरहा,०७ साउन । सिरहाको लहान नगरपालिका–३ मा फलफूल बोकेको पिकअप गाडीमा गोप्य रूपमा लुकाएर राखिएको ६५२ केजी गाँजा प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय सिराहाबाट खटिएको विशेष टोलीले श्यामकुमारी साहको घर कम्पाउन्डमा पार्किङ गरी राखिएको बा२१ च ५८६६ नम्बरको पिकअपमा खानतलासी गर्दा नास्पातीको थुप्रोमुनि लुकाइएका गाँजाका पोका फेला पारेको हो।
लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाका अनुसार फलफूलको ओटमा अवैध रूपमा गाँजा ओसारपसार गर्ने उद्देश्यले लुकाइएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ निवासी ३८ वर्षीया श्यामकुमारी साह, १९ वर्षीय शिवम साह तथा भारतका ३८ वर्षीय गौरव महतोलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको ६५२ केजी गाँजा, पिकअप गाडी तथा पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको डीएसपी निरौलाले जानकारी दिए।

प्रतिक्रिया