वीरगन्ज :

गहवामाई रथ यात्रा व्यवस्थित बनाउन महानगरको नेतृत्वमा उच्चस्तरीय समन्वय बैठक

श्रेणी : BANNER

59 minutes
Pradeep Sah
2.9kViews
1067 Shares

वीरगंज (पर्सा), २६ असार । वीरगञ्जको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको श्री गहवामाई मन्दिरको ‘माई विशाल रथ यात्रा’ लाई यस वर्ष थप व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गराउने तयारी तीव्र पारिएको छ। आगामी असार ३२ गते आयोजना हुने रथ यात्रालाई सफल बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, महानगरपालिका तथा सम्बन्धित सरोकारवाला संस्थाहरूबीच उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको हो।

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा महानगरको सभाहलमा आयोजित बैठकमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान, दूरसञ्चार सेवा प्रदायक संस्था तथा आयोजक समितिका प्रतिनिधिहरू सहभागी थिए।

बैठकले रथ यात्रा सञ्चालन हुने मार्ग, सहभागी हुने श्रद्धालुको सम्भावित भीड तथा धार्मिक संवेदनशीलतालाई मध्यनजर गर्दै प्रत्येक निकायको भूमिका र जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरेको छ।

लाखौँ भक्तजनको सहभागिता रहने अनुमान गरिएकाले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा नगर प्रहरीको संयुक्त परिचालन गरिनेछ भने ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाइने निर्णय गरिएको छ, ताकि यात्रा अवधिभर आवतजावत सहज रहोस्।

रथ यात्रा हुने सम्पूर्ण मार्गको सरसफाइका लागि वीरगञ्ज महानगरपालिकाले आवश्यक जनशक्ति तथा उपकरण परिचालन गर्नेछ। यस कार्यमा आयोजक समिति, निजी क्षेत्र र विभिन्न सामाजिक संघ–संस्थाले समेत सहकार्य गर्ने सहमति भएको छ।

श्रद्धालुको सहजताका लागि यात्रा मार्गका विभिन्न स्थानमा शुद्ध खानेपानी वितरणको व्यवस्था गरिनेछ। त्यस्तै, नेपाल विद्युत प्राधिकरणले यात्रा अवधिभर निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्दै वितरण प्रणालीको नियमित निगरानी तथा आवश्यक मर्मतसम्भार गर्ने तयारी गरेको छ।

यात्राका क्रममा अत्यधिक भीडका कारण सञ्चार सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले नेपाल टेलिकमसहित अन्य दूरसञ्चार सेवा प्रदायकहरूलाई नेटवर्क क्षमता सुदृढ बनाउन अनुरोध गरिएको छ। धार्मिक मर्यादा, पवित्रता तथा सम्पूर्ण व्यवस्थापनको प्रत्यक्ष जिम्मेवारी भने आयोजक समितिले नै सम्हाल्नेछ।

बैठकलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले गहवामाईको रथ यात्रा वीरगञ्जको मात्र नभई समग्र मधेश प्रदेशकै धार्मिक तथा सांस्कृतिक गौरवको प्रतीक भएको उल्लेख गर्नुभयो। उहाँले रथ यात्रालाई ऐतिहासिक रूपमा सफल बनाउन महानगरपालिकाले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित सरकारी तथा गैरसरकारी निकायलाई आफ्नो जिम्मेवारी समयमै र प्रभावकारी रूपमा पूरा गर्न निर्देशन दिनुभयो।

यसैबीच, आयोजक समितिले पनि रथ यात्रालाई सुरक्षित, अनुशासित र मर्यादित ढंगले सम्पन्न गर्न सम्पूर्ण वीरगञ्जबासी, उद्योगी–व्यवसायी, सामाजिक संघ–संस्था, स्वयंसेवक तथा सञ्चारकर्मीलाई सक्रिय सहयोग र सहभागिताका लागि हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *