बारा,०८ भदौ । बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१ सिमरा निवासी प्रदीप खड्का रहेका छन्। उनी विद्यार्थी रहेको प्रहरीले जनाएको छ।
गरिमा भदौ २ गते साँझ जितपुर सिमरा उपमहानगरपालिका–१ मा मृत अवस्थामा फेला परेकी थिइन्। उनी घरबाट हराएको तीन दिनपछि मृत भेटिएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानले गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ। घटनाको अनुसन्धानका क्रममा खड्कासहित हालसम्म नौ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए।
डीएसपी घलेका अनुसार घटनामा संलग्न अन्य व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया