काठमाडौं,०८ भदौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
थारु कल्याण कारिणी सभाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्दै न्यायोचित ढंगबाट समाधान खोजिनुपर्ने धारणा व्यक्त गरिन्।
सभाले हरेक वर्ष भदौ ७ गतेलाई ‘टीकापुर विद्रोह दिवस’का रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष ‘टीकापुर विद्रोह, आन्दोलनका माग–मुद्दा एवं अबको निकास’ र ‘नेपालको संविधानको अन्तरवस्तुमा थारु समुदायका साझा सवाल तथा संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा मन्त्री चौधरीले थारु समुदायका माग तथा मुद्दा सरकारभित्रैबाट उठाउँदै आएको बताइन्। उनले थारु समुदायको अधिकार, पहिचान र न्यायका सवालमा निरन्तर आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरिन्।
टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक पहल गर्ने बताउँदै उनले थारु समुदायका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको स्पष्ट पारिन्।

प्रतिक्रिया