विराटनगर,१३ साउन । सुनसरीको इनरुवा क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जिल्ला अदालत सुनसरीले बुधबारका लागि सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातिदेखि अर्को आदेश नभएसम्म इनरुवा नगरपालिकासहित जिल्लाका १० स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै अदालत प्रशासनले बुधबारका लागि नियमित सेवा तथा न्यायिक कामकारबाही स्थगित गर्ने निर्णय गरेको हो ।
अदालतले जारी गरेको सूचनामा सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी तथा न्याय सम्पादनमा संलग्न सबैको सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।
अदालतले बुधबारलाई ‘शून्य समय’ मानेको छ । जसअनुसार बुधबार अदालतमा उपस्थित हुनुपर्ने, म्याद वा तारेख तोकिएका व्यक्तिको हकमा हदम्याद तथा तारेख नगुज्रने अदालतले जनाएको छ ।
अदालतको सेवा कहिलेदेखि नियमित रूपमा सञ्चालन हुने भन्ने विषय स्थानीय प्रशासनको अवस्थाका आधारमा तय हुने जनाइएको छ ।

प्रतिक्रिया