वीरगन्ज :

प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन अगाडि लैजाने गठबन्धनका शीर्ष नेताहरुको उद्घोष

श्रेणी : BANNER

3 years
birgunj report
35Views
0 Shares

काठमाडौं । सत्ता गठबन्धन दलका नेताहरुले गठबन्धन लामो समयसम्म जाने बताएका छन् । शुक्रबार पोखरा र बुटवलमा आयोजित संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका उत्पन्न गराउने गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शुक्रबार पोखरामा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्ध आग्रह र पूर्वाग्रहमुक्त हुन आवश्यक रहेको बताएका हुन् । उनले विगतका कुरा स्मरण गरेर कुनै लाभ नहुने भन्दै देशको भविष्यका लागि सोच्न आवश्यक रहेको बताए ।

उनले गठबन्धन आजको आवश्यकता रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनमा लाग्न आग्रह गरे । प्रधानमन्त्री देउवाले शीर्ष नेताहरु सबै गठबन्धनमा मिलेकाले तल्लो स्तरका कार्यकर्ताहरुले पनि मिलेर जानुको विकल्प नभएको बताए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा रहुन्जेलसम्म गठबन्धनलाई अगाडि लैजानुपर्ने बताए । शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन अगाडि जाने बताएका हुन् ।

उनले चुनावसम्मका लागि मात्रै गठबन्धन नगरिएको भन्दै चुनाव सकिएपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नो पार्टी मात्रै नहेरी गठबन्धनका सबै उम्मेदवारहरुलाई विजय गराउन पनि आग्रह गरे । अध्यक्ष प्रचण्डले सबै एकै डुंगामा सवार रहेको उल्लेख गर्दै जिते सबैले जित्ने र हारे सबैले हार्ने बताए ।

उनले एकअर्कालाई सहयोग गर्ने र एकतावद्ध भई जनताको बीचमा जानलाई उच्च प्राथमिकता दिन अपील गरे । उनले भने, ‘म तपाईहरु सबैसँग हार्दिकताका साथ र जोड दिएर आग्रह गर्न चाहन्छु, ढुक्कसँग गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराउनुस् । गठबन्धन विजयी भएर मात्रै पुग्दैन । गठबन्धनले प्रतिगमनको खतरा नेपालमा रहँदासम्म यो गठबन्धन निरन्तर अगाडी जानुपर्ने आवश्यकता छ । हामी सबैले के नसोचौँ भने चुनाव सकिएपछि गठबन्धन पनि सकिन्छ भन्ने भ्रममा हामी कोही नबसौँ । र हामी कसैले के नसोचौँ भने मेरो पार्टीलाई मात्रै जिताउँछु गठबन्धनका अरु जेसुकै हुन् भन्ने नसोचौँ । मैले त भनेको छु त्यसरी सोच्नु नै आत्मघाती हुन्छ । हामी सबै एउटै डुंगामा छौँ जिते हामी सबैले जित्नेवाला छौँ । हारे हामी सबैले हार्नेवाला छौँ । त्यसकारण सबै साथीहरुले एकअर्कालाई मद्दत गर्ने, एकतावद्ध हुने, जनताको बीचमा जाने कुरालाई उच्च प्राथमिकता दिनुहोला म विशेष रुपले अपील गर्न चाहन्छु ।’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी शक्तिहरुसँग साँगगाँठ गरेको आरोप लगाए । उनले ओलीले राप्रपाजस्ता प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेकाले गणतन्त्र खतरामा पार्ने भन्दै होशियार रहन पनि आम मतदातालाई आग्रह गरे । उनले ओलीले थोरै मात्रै शक्ति आर्जन गरे भने आफूहरु देश छोडेर भाग्नुपर्ने अवस्था आउने जिकिर गरे ।

ओली राजसंस्थालाई पुनस्र्थापित गर्ने, देशमा घात गर्ने शक्तिहरुसँग मिलेकाले उनीबाट गणतन्त्र खतरामा पर्ने देखिएको अध्यक्ष नेपालको तर्क थियो । उनले भने, ‘मैले धेरैबाट सुनेको छु–केपी ओली सुध्रनेवाला छैनन् । भनेपछि कता–कता एउटा नयाँ तानाशाहको जन्म, कताकता नयाँ हिटलरको जन्म भए जस्तो लाग्दछ । त्यो हुनाले होशियार, गणतन्त्र खतरामा हुन्छ । केपी ओलीले अलिकति शक्ति आर्जन गरेभने बहुमतको त कुरै छोड्नुस्, देशपछि देश छोडेर भाग्नुपर्ने हुन्छ । यिनले गणतन्त्रलाई जोखिममा पार्नेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *