काठमाडौं,१५ असाेज । भारतबाट खैरो हेरोइन ल्याएर काठमाडौं उपत्यकामा बिक्री–वितरण गर्ने गिरोहविरुद्धको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक प्रतिवादी र भारतकी एक महिला छन्।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले असोज १३ गते चन्द्रागिरि नगरपालिका–७, सतुङ्गलबाट लमजुङको बेँसीसहर नगरपालिका–२ ठेगाना भएका २७ वर्षीय विक्रम गुरुङलाई पक्राउ गरेको हो। उनको साथबाट २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र ७ लाख रुपैयाँ नगद बरामद भएको ब्यूरोले जनाएको छ।
गुरुङमाथि थप अनुसन्धान गर्ने क्रममा भारतको सिलिगुडीबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर आपूर्ति गर्ने गरेको आरोपमा भारत, पश्चिम बंगाल ठेगाना भएकी ५० वर्षीया प्रिया भुजेललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई असोज १४ गते चन्द्रागिरि नगरपालिका–१२ बाट १८२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गुरुङ यसअघि २०८१ असोज २ गते २९४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइन बरामद भएको मुद्दामा पक्राउ परी जगन्नाथ देवल कारागारमा थुनामा थिए। जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएको प्रहरी अभिलेखबाट खुलेको छ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

प्रतिक्रिया