वीरगन्ज :

कांग्रेस बारा–४ को क्षेत्रीय सभापतिमा युवा नेता लोकेश सिंह

श्रेणी : मधेस

1 hour
Pradeep Sah
2.7kViews
1267 Shares

बीरगंज,१४ असोज । नेपाली कांग्रेसको बारा क्षेत्र नम्बर–४ को क्षेत्रीय सभापतिमा युवा नेता लोकेश सिंह सर्वसम्मत चयन भएका छन्।

जीतपुरमा जारी क्षेत्रीय अधिवेशनबाट सिंहलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरिएको हो। सभापतिका लागि सिंहसँगै विजय यादव आकांक्षी थिए। लामो समयको छलफल र सहमतिपछि सिंहको नाममा सहमति जुटेको हो।

सिंहलाई क्षेत्रीय सभापति बनाउन कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर पक्षले पहल गरेको बताइएको छ। केही महिनाअघि तत्कालीन सभापति शेरबहादुर देउवा निकट निलम्बित जिल्ला सभापति राजेश राय यादवको पक्ष छाडेर सिंह मन्सुरको पक्षमा खुलेका थिए।

कांग्रेसभित्र सिंहलाई सम्भावना बोकेका युवा नेताका रूपमा हेरिँदै आएको छ। उनलाई क्षेत्रीय सभापति बनाउन पार्टीका स्थानीय नेता तथा कार्यकर्तासमेत सकारात्मक देखिएका थिए।

क्षेत्रीय सभापतिका अर्का आकांक्षी गुप्तालाई क्षेत्र नम्बर–४ (२) को सभापतिमा चयन गरिएको छ। त्यस्तै, क्षेत्र नम्बर–४ (१) को सभापतिमा छविलाल शर्मा चयन भएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिकाका निवर्तमान नगर सभापति शर्माले पुनः नगर सभापति बन्ने इच्छा राखेका थिए। तर अन्तिम समयमा उनलाई क्षेत्र नम्बर–४ (१) को सभापति बनाउने सहमति भएपछि रमेश पण्डितलाई नगर सभापति बनाइएको बताइएको छ।

संघीय तथा प्रदेश निर्वाचन क्षेत्रका सभापतिको टुंगो लागेसँगै अब केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि तथा क्षेत्रीय समितिका अन्य पदाधिकारी चयनका लागि कार्यदल गठन गरिएको छ।

कार्यदलमा क्षेत्रीय सभापति सिंह, क्षेत्र नम्बर–४ (२) का सभापति गुप्ता, युवा नेतृ मेघा शाही र युवा नेता नवराज त्रिपाठी रहेका छन्। कार्यदलले गर्ने निर्णयलाई स्वीकार गर्दै अघि बढ्ने सहमति भएको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *