वीरगंज, १४ असोज । मधेश प्रदेशको अर्थ तथा योजना मन्त्रालयले प्रशासन सेवा, लेखा समूहका २६ कर्मचारीको सरुवा, कामकाज तथा दरबन्दी मिलान गरेको छ। यस क्रममा बारा र पर्साका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको समेत जिम्मेवारी हेरफेर गरिएको छ।
असोज १३ गतेको निर्णयअनुसार रञ्जनकुमार कर्णलाई डिभिजन वन कार्यालय पर्साबाट पूर्वाधार विकास कार्यालय बारा सरुवा गरिएको छ। उपेन्द्रकुमार यादवलाई डिभिजन वन कार्यालय बाराबाट पूर्वाधार विकास कार्यालय पर्सा पठाइएको छ।
यस्तै, सुबोधकुमार यादवलाई पूर्वाधार विकास कार्यालय बाराबाट डिभिजन वन कार्यालय पर्सा र सुरेन्द्र राय यादवलाई पूर्वाधार विकास कार्यालय पर्साबाट डिभिजन वन कार्यालय बारा सरुवा गरिएको छ।
मन्त्रालयले एउटै निकायमा लामो समयदेखि कार्यरत कर्मचारीलाई हेरफेर गर्ने क्रममा यी सरुवा तथा दरबन्दी मिलान गरिएको जनाएको छ। निर्णयमा छैटौँ र सातौँ तहका १२ जना अधिकृतस्तरका कर्मचारीसमेत छन्।
मन्त्रालयका अनुसार कर्मचारीको जिम्मेवारी हेरफेरलाई नियमित व्यवस्थापन प्रक्रियाका रूपमा अघि बढाइएको हो। सरुवाको विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ।
यसअघि भदौको दोस्रो साता पनि अर्थ मन्त्रालयले दुई वर्षभन्दा बढी समय एउटै कार्यालयमा कार्यरत ७६ जना लेखा अधिकृत तथा लेखापालको सरुवा गरेको थियो।

प्रतिक्रिया