वीरगन्ज :

थ्री स्टार होटलमा छापा मार्दा प्रहरीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.0kViews
1799 Shares

वीरगन्ज,१६ भदाै । वीरगन्ज महानगरपालिका–१६ बसपार्क क्षेत्रमा रहेको थ्री स्टार होटलमा छापा मार्ने क्रममा प्रहरी टोलीमाथि हातपात तथा अवरोध भएको घटनामा तीन जना पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार भदौ १३ गते शनिबार होटलमा छापा मार्ने क्रममा केही व्यक्तिले प्रहरीको काममा अवरोध गर्नुका साथै हातपात गरेपछि प्रहरी र उनीहरूबीच झडप भएको थियो। घटनामा केही प्रहरीसमेत घाइते भएको बताइएको छ।

घटनापछि वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले नौ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये छ जनालाई सामान्य जिम्मा–जमानीमा रिहा गरिएको र तीन जनालाई भने अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा विशालकुमार साह, अजयकुमार गुप्ता र विशाल यादव छन्। उनीहरूमाथि प्रहरीमाथि अभद्र व्यवहार गरेको तथा प्रहरीको काममा अवरोध पुर्‍याएको आरोपमा अनुसन्धान अघि बढाइएको छ।

यसैबीच, हिरासतमा रहेका तीन जनालाई छुटाउन राजनीतिक दबाब तथा चलखेल भइरहेको चर्चा वीरगन्जमा चलेको छ। यद्यपि, राजनीतिक दबाब परेको विषयमा प्रहरीले आधिकारिक रूपमा पुष्टि गरेको छैन।

प्रहरीमाथि नै हातपात भएको घटनामा निष्पक्ष अनुसन्धान गरी दोषी देखिएकामाथि कानुनअनुसार कारबाही हुनुपर्ने स्थानीयस्तरबाट आवाज उठेको छ। राजनीतिक पहुँचका आधारमा आरोपितले उन्मुक्ति पाए कानुनी शासन र प्रहरीको मनोबलमा असर पर्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साको आधिकारिक धारणा लिन प्रयास गरिए पनि प्रवक्तासँग सम्पर्क हुन सकेन। प्रहरीले औपचारिक रूपमा विवरण सार्वजनिक नगरेकाले घटनाको वास्तविकता र आरोपितहरूको भूमिकाबारे थप अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *