वीरगन्ज :

प्रभावित नागरिकको पुनर्स्थापना चाँडै सुरु गर्छौँ : प्रधानमन्त्री शाह

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.8kViews
1318 Shares

काठमाडौं,१६ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित नागरिकको खोज, उद्धार, उपचार र राहतसँगै पुनर्स्थापनाको काम अघि बढाउने तयारी भइरहेको बताएका छन्। प्रभावित नागरिकको संख्या र भौतिक क्षतिको विवरण स्थानीय सरकारसँगको समन्वयमा संकलन सुरु भइसकेको उनले जानकारी दिएका छन्।

सोमबार राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीका कारण घर, परिवार, आफन्त तथा सम्पत्ति गुमाएका नागरिकको पीडा सरकारले गम्भीरतापूर्वक बुझेको बताएका हुन्। प्रभावितलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउँदै पुनर्स्थापना गरी सामान्य जनजीवनमा फर्काउने सरकारको प्राथमिकता रहेको उनको भनाइ छ।

उनका अनुसार पुनर्स्थापनाका लागि आवश्यक आर्थिक स्रोत जुटाउने कामसमेत भइरहेको छ। रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म सरकारले खोज, उद्धार, उपचार, राहत तथा नागरिकको सुरक्षित व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा प्रदेश तथा स्थानीय सरकारबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भन्दै मित्रराष्ट्र, स्वदेशी तथा विदेशी संघसंस्था, सञ्चारमाध्यम, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवक र आम नागरिकको सहयोगको प्रशंसा गरेका छन्।

उनले भोटेकोशीमा आएको बाढी सामान्य प्रकृतिको नभई हिमालय क्षेत्रमा हिउँचट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको बताएका छन्। यस्तो घटनाले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको संकेत गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको विपद्को विषय थप प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।

बाढीमा ज्यान गुमाएका तथा पहिचान हुन नसकेका शव कानुनअनुसार वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्।

‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार शव व्यवस्थापन भइरहेको उनले बताएका छन्। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवको डीएनएलगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर सरकारले व्यवस्थापन गरिरहेको उनको भनाइ छ।

प्रधानमन्त्रीका अनुसार हालसम्म ९३९ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा शव व्यवस्थापन भइरहेको छ भने पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम जारी छ।

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा पुनर्स्थापना गर्ने काम पनि तीव्र पारिएको प्रधानमन्त्री शाहले बताएका छन्।

उनका अनुसार रसुवाको कालिकास्थान, नौकुण्डका केही क्षेत्र, गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर ५ र ६ का केही भाग तथा सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगिसकेको छ। आमाछोदिङ गाउँपालिकाका केही क्षेत्रमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालनको तयारी भइरहेको छ।

जिल्लाका विद्युत् नपुगेका क्षेत्रमा घरायसी सोलारमार्फत सेवा उपलब्ध गराउन ५०० थान पोर्टेबल सोलार पठाइएको उनले जानकारी दिएका छन्।

धादिङको पृथ्वीराजमार्ग आसपासका गजुरी, आदमघाट, मलेखु, जहरे र मौवाखोलासम्मका प्रभावित क्षेत्रमा आदमघाटका केही स्थानबाहेक ९८ प्रतिशत भूभागमा विद्युत् सेवा पुनर्स्थापना भइसकेको छ। आगामी दुई दिनभित्र सबै क्षेत्रमा विद्युत् सेवा सञ्चालन गर्ने गरी काम भइरहेको प्रधानमन्त्रीले बताएका छन्।

त्यस्तै, प्रभावित अधिकांश क्षेत्रमा सञ्चार सेवा पनि पुनर्स्थापित भइसकेको छ। नेपाल टेलिकमका १२० मध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा दिन थालेका छन्।

सरकारले प्रभावित नागरिकका लागि राहत संकलन तथा वितरणलाई पनि निरन्तरता दिएको छ। काठमाडौंलगायत देशका विभिन्न स्थानमा संकलन भएका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

भारत, चीन, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, जापान, स्विट्जरल्यान्ड र अस्ट्रेलियालगायत मित्रराष्ट्रबाट सहयोग प्राप्त भइरहेको उनले जानकारी दिएका छन्।

हालसम्म रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रमार्फत ३ हजार ६९६ जना प्रभावितसम्म राहत पुर्‍याइएको छ।

प्रधानमन्त्री राहत कोषमा सोमबार मध्याह्नसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले बताएका छन्। त्यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको उनले जानकारी दिएका छन्।

नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ। आयोजनाका सुरुङमा समेत खोज तथा उद्धार कार्य जारी रहेको प्रधानमन्त्रीले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *