बीरगन्ज,१६ भदाै । वनबाट चोरी गरी ल्याइएको आशंका गरिएको सालको काठ बाराको कोल्हबीबाट बरामद भएको छ। कोल्हबी नगरपालिका–४ लामपोईनी आसपासको झाडीमा लुकाएर राखिएको अवस्थामा वन कर्मचारी र प्रहरीको संयुक्त टोलीले पाँच थान सालका गोलिया बरामद गरेको हो।
विशेष सूचनाका आधारमा परिचालन भएको वन कर्मचारी र प्रहरीको टोलीले झाडीमा खोजतलास गर्ने क्रममा काठ फेला पारेको कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलले जानकारी दिए।
उनका अनुसार बरामद पाँच थान सालका गोलियाको कुल परिमाण १९ क्युफिट रहेको छ। बरामद काठको बजार मूल्य करिब ४२ हजार रुपैयाँ बराबर रहेको वन कार्यालयले जनाएको छ।
वन कार्यालयका अनुसार काठ ओसारपसारमा संलग्न व्यक्ति वा समूहले तत्कालका लागि झाडीमा लुकाएर राखेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। टोली घटनास्थलमा पुग्दा काठ राख्ने व्यक्ति वा समूह त्यहाँ फेला नपरेको र उनीहरू भागेको हुन सक्ने आशंका गरिएको छ।
बरामद काठलाई घटनास्थलबाट उठाएर सवारीसाधनमार्फत कोल्हबी सब–डिभिजन वन कार्यालयमा ल्याइएको छ। काठ कुन स्थानबाट कटान गरी ल्याइएको हो तथा अवैध कटान र ओसारपसारमा को–को संलग्न छन् भन्ने विषयमा वन कार्यालयले अनुसन्धान अघि बढाएको जनाएको छ।
संलग्न व्यक्तिको पहिचान भएपछि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने डिभिजन वन कार्यालय बाराले जनाएको छ।
डिभिजन वन अधिकृत सुजितकुमार झाले वन क्षेत्रमा हुने अवैध कटान तथा चोरी–निकासी नियन्त्रणका लागि निगरानी र गस्ती बढाइएको बताए। बरामद काठसम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाही अघि बढाइने उनले जानकारी दिए।

प्रतिक्रिया