चितवन,१६ भदाै । भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदीको चितवन खण्डमा हालसम्म ३ सय २१ शव फेला परेका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयले सोमबार साँझ उपलब्ध गराएको विवरणअनुसार तीमध्ये सनाखत भएर आफन्तले बुझेका शव १२ मात्र छन् । पहिचान हुन नसकेका शवलाई ‘जमिनमुनि व्यवस्थापन गर्ने’ निर्णयअनुसार हालसम्म २ सय ८० शव व्यवस्थापन भएका छन् ।
प्रहरी विवरणमा उल्लेख भएअनुसार १ सय १६ पुरुष, ६६ महिला, ७ बालक र ६ बालिकाको शव फेला परेका छन् । १ सय २६ शव क्षतविक्षत अवस्थाका छन् ।
शनिबार ९६, आइतबार १ सय ३ र सोमबार ८१ शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । सनाखत भएर परिवारले शव बुझेकामा ११ पुरुष र एक बालिका रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया