वीरगन्ज :

बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला, उद्धार कार्य जारी

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.6kViews
1594 Shares

काठमाडौं,१६ भदाै । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटा घरभित्र २० भन्दा बढी शव फेला परेका छन्। भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा बेपत्ता तथा मृत्यु भएकाहरूको शव उक्त घरभित्र भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार घरको एउटै कोठामा ठूलो संख्यामा शव फेला परेको हो। यद्यपि प्रतिकूल मौसम र रात परिसकेकाले शवको यकिन संख्या निर्धारण हुन नसकेको उनले बताए।

विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङले उक्त घरमा २२ वटा शव भेटिएको जानकारी दिएका छन्। उनका अनुसार उद्धार टोलीले आज केही शव बाहिर निकाले पनि अझै ठूलो संख्यामा शव घरभित्रै रहेका छन्।

‘आज ५–६ वटा शव निकालिएको छ। अरु शव त्यहीँ छन्,’ तामाङले बताए। उनका अनुसार यसअघि पनि उद्धार तथा खोजीको प्रयास गरिएको थियो तर कठिन भूगोल र परिस्थितिका कारण काम अघि बढ्न सकेको थिएन। सोमबार थप सुरक्षाकर्मीसहितको टोली पुगेपछि ठूलो संख्यामा शव फेला परेको हो।

फेला परेका केही शवको अवस्था निकै खराब रहेकाले पहिचान गर्नसमेत कठिन भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

बाढीपछि बेत्रावती क्षेत्रमा ठूलो संख्यामा मानिस बेपत्ता भएका थिए। त्रिशूली नदीमा आएको बाढीले आसपासका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍याएको थियो।

प्रहरीका अनुसार मौसम तथा भौगोलिक अवस्था अनुकूल भए मंगलबार बिहानदेखि उक्त घरमा थप खोज तथा उद्धार कार्य अघि बढाइनेछ। शवको यकिन संख्या र पहिचानका लागि उद्धारपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *