वीरगन्ज :

बाढी र पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

श्रेणी : देश

3 hours
Pradeep Sah
2.8kViews
1208 Shares

काठमाडौं,१६ भदाै । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा सडक अवरोध र जोखिम कायमै रहेको छ।

धादिङमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर र गजुरी गाउँपालिका–२ स्थित परेवा भीरमा पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको हो। भदौ १४ गतेदेखि ती क्षेत्रमा लगातार पहिरो खसिरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, ललितपुरको बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडामा भदौ १५ गते दिउँसो पहिरो खसेपछि कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडकखण्डमा सवारी साधन सञ्चालन गर्न पाइने छैन। दिउँसो भने सडकको अवस्था मूल्याङ्कन गरेपछि मात्रै सवारी सञ्चालन गर्न दिइनेछ।

नुवाकोटमा पनि बाढीले सडक यातायात प्रभावित बनाएको छ। बेत्रावतीस्थित सिमिटारमा बाढी आएपछि पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी टोखा–छहरे सडकखण्डअन्तर्गत घट्टेखोलामा बाढी तथा पहिरोको जोखिम बढेपछि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड लामो समयदेखि अवरुद्ध छ। जिल्लाका अन्य प्रमुख सडकखण्डसमेत भदौ १० गतेदेखि बाढीका कारण पूर्ण रूपमा प्रभावित रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्था यकिन नगरी जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न तथा अवरुद्ध सडकखण्डमा जबर्जस्ती सवारी नचलाउन आग्रह गरेको छ। लगातार वर्षा भइरहेकाले पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *