वीरगन्ज :

सिमरा घटनाका आरोपीको भिडियो सार्वजनिक गरेको आरोप, प्रहरी हवल्दार पक्राउ

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.1kViews
1855 Shares

वीरगन्ज,०८ भदौ । बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका आरोपीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

अनुसन्धानका क्रममा आरोपीसँग गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन थालेको थियो। छानबिनका क्रममा आफ्नै मातहतका प्रहरी हवल्दार कुमार विक संलग्न रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बारा दरबन्दी भएका हवल्दार विकले आरोपीको भिडियो आफ्ना एक साथीलाई म्यासेन्जरमार्फत पठाएको र त्यहीँबाट भिडियो सामाजिक सञ्जालमा फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार गोपनीयताको अधिकार उल्लंघन गरेको आरोपमा विकलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

गरिमाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरसँग गरिएको सोधपुछको भिडियो सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र संवेदनशील सामग्रीको गोपनीयतामाथि प्रश्न उठेको थियो।

प्रहरीले भिडियो सार्वजनिक भएको विषयमा थप अनुसन्धानसमेत अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *