सिराहा,०७ साउन । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–४ की २० वर्षीया संजना कुमारी यादवमाथि भएको भनिएको अमानवीय घरेलु हिंसाको घटनाले स्थानीय समुदायमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ।
पीडितको भनाइअनुसार सामान्य फोनमा कुराकानी गरेको विषयलाई लिएर उनीमाथि क्रूरतापूर्वक शारीरिक तथा मानसिक यातना दिइएको आरोप छ। उनको मुखमा गम्छा कोच्ने, हातखुट्टा बाँध्ने, तातो रडले शरीर दाग्ने, करेन्ट लगाउने, ठूलो आवाजमा डेक बजाएर कुटपिट गर्ने तथा ज्यान मार्ने उद्देश्यले यातना दिएको दाबी गरिएको छ।
घटनापछि स्थानीयवासी तथा सरोकारवाला पक्षहरूले यस विषयमा निष्पक्ष र प्रभावकारी अनुसन्धानको माग गरेका छन्। आरोपहरू सत्य प्रमाणित भएमा यो घटना घरेलु हिंसाभन्दा पनि मानव अधिकारको गम्भीर उल्लङ्घन तथा कानुनअनुसार कडा कारबाही हुनुपर्ने प्रकृतिको अपराध हुने उनीहरूको भनाइ छ।
नेपालको संविधानले प्रत्येक महिलालाई सम्मानपूर्वक, सुरक्षित र हिंसारहित जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। घरेलु हिंसा तथा महिलामाथि हुने कुनै पनि प्रकारको शारीरिक, मानसिक वा अन्य दुव्र्यवहार कानुनविपरीत मानिन्छ र दोषीलाई कानुनी सजायको व्यवस्था रहेको छ।
यस घटनाप्रति नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित निकायहरूले गम्भीर ध्यान दिई निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गर्नुपर्ने माग उठेको छ। साथै पीडितलाई आवश्यक स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, सुरक्षा र कानुनी सहायता उपलब्ध गराउनुपर्नेमा पनि जोड दिइएको छ।
महिलामाथि हुने हिंसाविरुद्ध समाजका सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै स्थानीयले दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याई पीडितलाई शीघ्र न्याय दिलाउन माग गरेका छन्।

प्रतिक्रिया