वीरगन्ज :

आपत्कालीन स्वास्थ्य व्यवस्थापनबारे अमलेखगञ्जमा एकदिने प्रशिक्षण सम्पन्न

श्रेणी : मधेस

4 hours
Pradeep Sah
2.6kViews
1911 Shares

बीरगन्ज,०७ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा प्राथमिक उपचार तथा यौनजन्य रोग (एसटीआई) सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आकस्मिक अवस्थामा सही प्राथमिक उपचार र यौनजन्य रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तथा एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा एलिफेन्ट भिलेज रिसोर्टको सभाहलमा सम्पन्न कार्यक्रममा वडा नं. २१ र २२ का स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

प्राथमिक उपचार प्रशिक्षक पिताम्बर कोइरालाले दुर्घटना, अत्यधिक रक्तस्राव, हड्डी भाँचिने, बेहोस हुने तथा सर्पदंशजस्ता आकस्मिक अवस्थामा स्वास्थ्यकर्मी नआउँदासम्म अपनाउनुपर्ने प्राथमिक उपचारका आधारभूत विधिबारे व्यावहारिक प्रशिक्षण दिएका थिए। सही समयमा गरिएको प्राथमिक उपचारले बिरामीको ज्यान जोगाउन र थप जटिलता रोक्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

त्यसैगरी, प्रशिक्षक आयुष्मा भट्टराईले यौनजन्य संक्रमणका कारण, लक्षण, रोकथामका उपाय तथा समयमै परीक्षण र उपचारको महत्वबारे जानकारी गराइन्। उनले यस्ता रोग लुकाएर नराखी स्वास्थ्य संस्थाबाट परामर्श र उपचार लिन तथा सुरक्षित व्यवहार अपनाउन आग्रह गरिन्।

अनमोल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विनयकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा वडा सदस्य जमुना गौतम, अमलेखगञ्ज स्वास्थ्य चौकी प्रमुख अप्सरा तिवारी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जका सहायक प्रधानाध्यापक रोहितबहादुर घिसिङ तामाङ, एन्जल फाउन्डेसनका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले उपचारभन्दा रोगको रोकथाम प्रभावकारी हुने उल्लेख गर्दै आधारभूत स्वास्थ्य ज्ञान हरेक नागरिकका लागि आवश्यक रहेको बताए। यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै आपत्कालीन अवस्थामा सही निर्णय लिन सहयोग पुग्ने उनको भनाइ थियो।

सहभागीहरूले प्रशिक्षण दैनिक जीवनमा उपयोगी रहेको भन्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

एन्जल फाउन्डेसनले स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, प्राथमिक उपचार तालिम, यौनजन्य रोगसम्बन्धी अभिमुखीकरण तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै समुदायमा स्वास्थ्य सचेतना विस्तार गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *