वीरगन्ज,०६ साउन । पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरमा एक महिलाको आफ्नै गोठमा रहस्यमय अवस्थामा शव फेला परेको छ। स्थानीय सुधीर सिलवालकी ३७ वर्षीया पत्नी लक्ष्मी सिलवाल बिहीबार बिहान गोठको माथिल्लो तलामा मृत अवस्थामा भेटिएकी हुन्।
दुई सन्तानकी आमा लक्ष्मीको मृत्यु आत्महत्या नभई हत्या भएको माइती पक्षले दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ। घटनास्थलको अवस्था र परिवारका सदस्यको भनाइमा देखिएको विरोधाभासका आधारमा उनीहरूले घटना शंकास्पद रहेको बताएका छन्।
परिवारका अनुसार मृतककी सासुले गोठको माथिल्लो तलामा डोरीमा झुन्डिएको अवस्थामा लक्ष्मीलाई देखेपछि डोरी काटेर शव तल झारेको बताएकी छन्। तर माइती पक्षले मृतकका चार वर्षीय छोराले “बाबाले ममीलाई कुट्नुभएको थियो” भनेको दाबी गर्दै घटनालाई सामान्य आत्महत्याका रूपमा लिन नमिल्ने जनाएको छ।
माइती पक्षका अनुसार घटनास्थलमा मृतकले लगाएका चुरा विभिन्न स्थानमा फुटेको अवस्थामा भेटिएको थियो। साथै, झुन्डिएको भनिएको स्थानमा बाँधिएको डोरी र त्यसका लागि प्रयोग गरिएको काठको अवस्थाले पनि घटनाप्रति थप शंका उत्पन्न गरेको उनीहरूको भनाइ छ।
यता, घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले मृतकको शरीरमा प्रारम्भिक रूपमा कुनै बाह्य चोटपटक वा निलडाम नदेखिएको जानकारी दिएका छन्। यद्यपि घटनाका सबै पक्षलाई समेटेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकका बुबा तथा ठोरी गाउँपालिका–३ निवासी लक्ष्मी सिवाकोटीले घटनाको वास्तविकता बाहिर ल्याई दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। उनले घटनास्थलको अवस्था, पारिवारिक भनाइ र अन्य परिस्थितिका आधारमा आफूहरू हत्या भएको निष्कर्षमा पुगेको बताए।
प्रहरीले घटनाको वास्तविक कारण खुलाउन आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया