वीरगन्ज :

वन्यजन्तु संरक्षणका लागि स्थानीय सहभागितामा जोड, ठोरीमा गोष्ठी सम्पन्न

श्रेणी : मधेस

7 hours
Pradeep Sah
3.1kViews
1492 Shares

वीरगंज (पर्सा), १४ असार । वन तथा वन्यजन्तु संरक्षणप्रति स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले पर्साको ठोरी गाउँपालिका–३, रामनगरमा शनिबार एकदिने संरक्षण गोष्ठी सम्पन्न भएको छ । रामनगरस्थित सिंगल ट्री रिसोर्टमा आयोजित गोष्ठी निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समिति, ठोरी–२ को आयोजनामा तथा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति, कसराको सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रममा वन संरक्षण, वातावरणीय सन्तुलन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे विस्तृत अभिमुखीकरण तथा छलफल गरिएको थियो । निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीवन खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । संरक्षण अभियानमा सक्रिय स्थानीय अगुवा तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रेग्मीले ठोरी क्षेत्रका बासिन्दा लामो समयदेखि वन तथा वन्यजन्तुको प्रभाव झेल्दै आएको उल्लेख गर्दै संरक्षणबाट प्राप्त हुने लाभ स्थानीय समुदायसम्म न्यायोचित रूपमा पुग्नुपर्नेमा जोड दिइन् । उनले स्थानीयमैत्री वन ऐन तथा व्यवहारिक कानुनी व्यवस्थाको अभावले संरक्षणप्रति समुदायको आकर्षण क्रमशः घट्दै गएको धारणा व्यक्त गरिन् ।

कार्यक्रमका सभापति एवं आयोजक समितिका अध्यक्ष जीवन खड्काले वन, वन्यजन्तु तथा पर्यावरण संरक्षणमा स्थानीय समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए । आयोजकका अनुसार गोष्ठीले वन संरक्षणप्रति स्थानीय तहमा सचेतना अभिवृद्धि गर्नुका साथै संरक्षण र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *