वीरगन्ज :

१ करोड ३५ लाखको चेक बाउन्स प्रकरणमा सांसद आशिका तामाङको नाम, अनुसन्धानको माग

श्रेणी : BANNER

1 day
Pradeep Sah
2.7kViews
1857 Shares

काठमाडौं,०४ साउन । अमेरिकामा बस्दै आएकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बास्कोटाबीचको करोडौँ रुपैयाँको लेनदेन तथा कथित ठगी विवादमा प्रतिनिधिसभा सदस्य आशिका तामाङको नामसमेत जोडिएपछि घटनाले नयाँ मोड लिएको छ। पीडित परिवारले चेक चोरी, किर्ते हस्ताक्षर, चेक बाउन्स र ब्ल्याकमेलको आरोप लगाउँदै निष्पक्ष अनुसन्धानको माग गरेको छ भने आरोपित पक्षले सबै आरोप अस्वीकार गरेको छ।

पीडित परिवारका अनुसार २०७७ सालमा क्यान्सरपीडित डम्बरबहादुर बुढाथोकीको उपचारका क्रममा जीवनप्रसाद बास्कोटाले आफूलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च अधिकारीका रूपमा चिनाउँदै परिवारसँग निकटता बढाएका थिए। बिमा गराइदिने र भविष्यमा ठूलो रकम प्राप्त हुने विश्वास दिलाएर उनले विभिन्न समयमा नगद, जग्गा बिक्रीबाट आएको रकम तथा बैंकबाट लिइएको कर्जासमेत गरी करिब २ करोड ८ लाख रुपैयाँ लिएको परिवारको दाबी छ।

कुष्मा बुढाथोकी अमेरिका गएपछि सानिमा बैंकमा रहेको निष्क्रिय खाताबाट एकाएक दुई वटा चेक बाउन्स भएको सूचना आएको उनले बताएकी छन्। पहिलो चेक जीवनप्रसाद बास्कोटाको नाममा १ करोड ८५ लाख रुपैयाँको थियो भने त्यसको केही दिनपछि सोही चेकबुकबाट प्रतिनिधिसभा सदस्य आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको अर्को चेक बाउन्स भएको सूचना प्राप्त भएको परिवारको भनाइ छ।

पीडित पक्षले घरबाट चेकबुक चोरी गरी किर्ते हस्ताक्षरका आधारमा चेक काटिएको दाबी गर्दै सांसद तामाङको नाममा चेक कसरी प्रयोगमा आयो भन्ने विषय अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेको छ। साथै, आशिका तामाङका सहसचिव भएको दाबी गर्ने एक व्यक्तिले रकम नतिरे सीआईबी र इन्टरपोलमार्फत पक्राउ गराइदिने धम्की दिएको आरोप पनि परिवारले लगाएको छ।

पीडित परिवारका अनुसार ठगी तथा किर्तेसम्बन्धी जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगे पनि प्रहरीले सुरुआतमा उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएपछि आयोगको निर्देशनअनुसार प्रहरीले सोमबार जाहेरी दर्ता गर्ने आश्वासन दिएको कुष्मा बुढाथोकीले बताएकी छन्।

यता, आरोपित जीवनप्रसाद बास्कोटाले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। उनले यो व्यक्तिगत लेनदेनको विषय भएको दाबी गर्दै ठगी, चेक चोरी र ब्ल्याकमेलका आरोप निराधार रहेको बताएका छन्। उनका अनुसार चेक खातामा पर्याप्त रकम नभएकै कारण बाउन्स भएको हो।

सांसद आशिका तामाङसँग आफ्नो कुनै सम्बन्ध, चिनजान वा मिलेमतो नरहेको दाबी गर्दै बास्कोटाले आशिकाको नाममा रहेको चेकबारे आफूलाई जानकारी नभएको बताएका छन्। आफूले कसैलाई सांसदको नाम वा पहुँच देखाएर धम्क्याउने काम नगरेको र आफू इन्स्योरेन्स कम्पनीको कर्मचारी भनेर पैसा नलिएको पनि उनको भनाइ छ।

घटनामा करोडौँ रुपैयाँको लेनदेन, चेक चोरी, किर्ते हस्ताक्षर, चेक बाउन्स तथा सांसदको नाम जोडिएको विषय सार्वजनिक भएपछि यसबारे निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनुपर्ने माग उठेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *