वीरगन्ज,३२ असार । पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझपटी टोलकी ३४ वर्षीया हीरादेवी यादवको उपचारका क्रममा मृत्यु भएको छ। परिवारले कुटपिटका कारण गम्भीर घाइते भएकी यादवको मंगलबार वीरगन्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएको छ।
परिवारका अनुसार असार १८ गते सार्वजनिक जग्गामा निर्माणाधीन बर्थिङ सेन्टरको बाटोसम्बन्धी विवादका क्रममा हीरादेवीमाथि कुटपिट भएको थियो। घटनापछि उनलाई उपचारका लागि सुरुमा पोखरिया अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं र त्यसपछि पुनः वीरगन्जस्थित न्युरो अस्पतालमा ल्याइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएपछि शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको र अन्त्येष्टि गरिएको जनाइएको छ।
यता, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले घटनाको अनुसन्धान जारी रहेको बताएका छन्। उनका अनुसार असार १८ गते बिहान घटनास्थल पुगेको प्रहरी टोलीले त्यतिबेला कुनै असामान्य अवस्था फेला नपारेको थियो। पछि सोही दिन साँझ महिला आफैं लडेर घाइते भएको र उपचारका लागि अस्पताल लगिएको भन्ने सूचना प्राप्त भएको उनले बताए।
प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान भइरहेको जनाउँदै प्रमाणका आधारमा दोषी देखिने व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया