काठमाडौं,३२ असार । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्ने प्रक्रियामा नयाँ व्यवस्था लागू गर्दै अशक्त, असहाय तथा आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिक र १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय परिचयपत्रबिनै खाता खोल्न सकिने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकले जारी गरेको निर्देशनअनुसार अन्य नेपाली नागरिकका हकमा भने नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ। यसअघि पनि बैंक तथा वित्तीय संस्थालाई विद्युतीय अभिलेखमार्फत राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको थियो।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको घोषणा गराउने व्यवस्था गर्नुपर्नेछ। राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका ग्राहकको विवरण सोही अवधिभित्र अद्यावधिक गर्नुपर्नेछ।
यस्तै, राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकलाई प्रत्येक ६ महिनामा परिचयपत्र लिएर ग्राहक पहिचान अद्यावधिक गर्न मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ।
विदेशमा रहेका नेपाली नागरिकले भने राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा अनलाइनमार्फत बैंक खाता खोल्न सक्नेछन्। तर, नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंकले उनीहरूको राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बरको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया