वीरगन्ज :

गहवा माईको रथयात्रा सफल बनाउन डा. पुरुषोतम दुबेको सार्वजनिक आह्वान

श्रेणी : धर्म संस्कृति

3 hours
Pradeep Sah
2.2kViews
1624 Shares

वीरगन्ज,२९ असार । वीरगन्जस्थित ऐतिहासिक एवं आस्थाको केन्द्र श्री गहवा माई मन्दिरमा असार ३२ र श्रावण १ गते आयोजना हुने ‘चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३’ मा सहभागी हुन विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति तथा बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष ‘ज्योतिष सम्राट’ डा. पुरुषोतम दुबेले सम्पूर्ण श्रद्धालु, सनातन धर्मावलम्बी तथा नगरवासीलाई हार्दिक आमन्त्रण गरेका छन्।

भानु जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै डा. दुबेले गहवा माईको रथयात्रा धार्मिक आस्थामात्र नभई सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी भाइचाराको प्रतीक बनेको उल्लेख गरे। उनले वीरगन्जका सम्पूर्ण सामाजिक, धार्मिक, व्यावसायिक सङ्घ–संस्था तथा नागरिकलाई महोत्सवमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

उनले ज्योतिषीय दृष्टिकोणले असार मसान्त र श्रावण सङ्क्रान्तिको समय अत्यन्त शुभ रहेको उल्लेख गर्दै सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने यस संक्रमणकालमा देवी आराधना, रथयात्रा र महाप्रसाद ग्रहणले सकारात्मक ऊर्जा, मानसिक शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको बताए।

कार्यक्रमअनुसार असार ३२ गते बिहान ७:३० बजे गहवा माई मन्दिर परिसरबाट भव्य रथयात्रा सुरु हुनेछ। रथयात्राको मुख्य आकर्षणका रूपमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने आयोजकले जनाएको छ। सोही दिन साँझ ६ बजे भजन सन्ध्याको आयोजना गरिनेछ।

त्यसैगरी श्रावण १ गते बिहान ५६ भोग महापूजा तथा दिउँसो ४ बजेदेखि विशाल महाप्रसाद भण्डारा सञ्चालन हुनेछ। लाखौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रमलाई सभ्य, शान्तिपूर्ण र व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न डा. दुबेले अनुरोध गरेका छन्।

उनले रथयात्राको दिन घर, पसल तथा प्रतिष्ठानहरूमा कलश, तोरण र दीप प्रज्वलन गरी माता गहवा माईको स्वागत गर्न तथा श्रद्धालुका लागि खानेपानी, शरबतलगायत सेवामूलक व्यवस्था गर्न पनि नगरवासीलाई आह्वान गरेका छन्।

आज आयोजित शुभकामना कार्यक्रममा रथयात्रा संयोजक बसन्त गुप्ता, विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, सचिव पप्पु गुप्ता, कोषाध्यक्ष रवि अग्रवाल तथा पदाधिकारी एवं सदस्यहरू दिपु गुप्ता, आकाश गिरी, राजनकुमार गुप्ता, राहुल रौनियारलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *