वीरगन्ज :

घण्टौँ लाइनपछि पनि भन्सार नकटेपछि भारतीय पर्यटक वीरगञ्जबाट फर्किए

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.9kViews
1858 Shares

वीरगंज (पर्सा), २५ असार । नेपालको प्रमुख स्थलमार्ग प्रवेशद्वार वीरगंज नाकामा चारपाङ्ग्रे सवारीसाधनको भन्सार प्रक्रियामा भएको भनिएको अव्यवस्था र ढिलासुस्तीका कारण भारतीय पर्यटकले सास्ती खेप्नुपरेको आरोप लगाउँदै सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ । भिडियोमा देखिएका पर्यटकले घण्टौं लाइनमा बसेर पनि भन्सार प्रक्रिया पूरा हुन नसकेपछि निराश भएर पुनः भारत फर्किनुपरेको बताएका छन् ।

पर्यटकका अनुसार उनीहरू नेपाल घुम्ने उद्देश्यले रक्सौल हुँदै वीरगंज नाका पुगेका थिए । तर चारपाङ्ग्रे सवारीको अस्थायी भन्सार गराउने क्रममा कार्यालयमा लामो समयसम्म प्रतीक्षा गर्दा पनि प्रक्रिया पूरा हुन नसकेपछि बाध्य भएर नेपाल प्रवेश नगरी भारततर्फ नै फर्किनुपरेको उनीहरूको गुनासो छ । भिडियोमा एक भारतीय पर्यटकले आफू दुई घण्टाभन्दा बढी समय लाइनमा बसेपनि भन्सार हुन नसकेको बताएका छन् । उनका अनुसार सुरुमा टिकट काट्न लगाइयो, त्यसपछि अर्को काउन्टरमा पठाइयो, तर त्यहाँ पनि लामो समयसम्म पालो नआएपछि अन्ततः यात्रा नै रद्द गरेर फर्किनुपरेको अवस्था सिर्जना भयो ।

पर्यटकहरूले भन्सार कार्यालयको व्यवस्थापन अत्यन्त कमजोर रहेको आरोप लगाएका छन् । उनीहरूको दाबी अनुसार लाइनमा बसेका सेवाग्राहीको काम अघि नबढ्ने, तर केही व्यक्तिहरू भने भित्रैबाट आएर छिटो भन्सार गराएर निस्किने गरेको देखिएको थियो । यसले भन्सार कार्यालयमा दलाली प्रणाली हावी भएको आशंका उनीहरूले व्यक्त गरेका छन् । उनीहरूले सीमा क्षेत्रमा अत्यधिक चेकजाँचका कारण पनि अनावश्यक झन्झट व्यहोर्नुपरेको बताएका छन् ।

रक्सौलदेखि वीरगंज भन्सार कार्यालयसम्म पुग्ने छोटो दूरीमै तीन स्थानमा चेकजाँच गरिनु पर्यटकमैत्री वातावरण विपरीत भएको उनीहरूको भनाइ छ । चेकजाँचका क्रममा हुने ढिलाइ र प्रक्रिया दोहोरिँदा यात्रुहरू थप हैरानीमा पर्ने गरेको उनीहरूले बताएका छन् । लाइन व्यवस्थापन प्रभावकारी बनाउन त्यहाँ खटिएका सुरक्षाकर्मीलाई आग्रह गर्दा पनि अपेक्षित सहयोग नपाएको आरोपसमेत भिडियोमा गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिका बाबजुद सेवाग्राहीको भीड व्यवस्थित हुन नसकेको उनीहरूको दाबी छ ।

नेपाल सरकारले पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्दै विदेशी पर्यटक आकर्षित गर्न विभिन्न योजना अघि बढाइरहेको अवस्थामा सीमा नाकामै देखिएको यस्तो अव्यवस्थाले देशको पर्यटन छविमाथि नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त हुन थालेको छ । स्थलमार्गबाट नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको पहिलो अनुभव नै झन्झटपूर्ण बनेमा त्यसले पर्यटन क्षेत्रमै दीर्घकालीन प्रभाव पार्न सक्ने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

भिडियोमा बोल्ने भारतीय पर्यटकले आफूले भोगेको अनुभव सुनाउँदै अन्य भारतीय नागरिकलाई समेत यस्तो अवस्था सुधार नभएसम्म नेपाल भ्रमणबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक बहस समेत उत्पन्न गरेको छ । यद्यपि, भिडियोमा लगाइएका आरोपबारे वीरगंज भन्सार कार्यालय, नेपाल प्रहरी तथा सम्बन्धित निकायले हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । सीमा नाकामा सेवाप्रवाह, लाइन व्यवस्थापन तथा भन्सार प्रक्रियालाई थप पारदर्शी, छिटोछरितो र पर्यटकमैत्री बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *