श्रेणी : BANNER
वीरगंज (पर्सा), २० असार । वीरगञ्जस्थित कुशवाहा मोटर्सले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत अवज्ञा गरेको आरोप लागेको छ। केही दिनअघि उक्त कम्पनीबाट खरिद गरिएको ई–स्कुटरमा आगलागी भएको घटनापछि छलफलका लागि प्रशासनले पटक–पटक बोलाउँदा पनि कम्पनीका सञ्चालक उपस्थित नभएको पीडितको भनाइ छ।
पीडित प्रदीप साहका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले दुई पटक मिति र समय निर्धारण गरी छलफलका लागि बोलाए पनि कुशवाहा मोटर्सका सञ्चालक उपस्थित भएका छैनन्।
घटनाको निष्पक्ष छानबिन, क्षतिपूर्ति तथा आवश्यक कानुनी कारबाहीको माग गर्दै प्रदीप साहले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराएका छन्।
निवेदनमा उल्लेख भएअनुसार २०८३ जेठ २१ गते बिहान करिब ७ः४० बजे उनका बुबा किशन साह कानुको नाममा दर्ता रहेको म.प्र.०३–०३९ प १४४३ नम्बरको ई–स्कुटर घरभित्र पार्किङ गरेर राखिएको अवस्थामा अचानक ब्याट्री पड्किएर आगलागी भएको थियो।
आगलागीका कारण ई–स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको मात्र नभई आगो घरको प्यासेज, भुइँतल्लाको कोठा, विद्युत् लाइन, सम्पूर्ण वायरिङ तथा इन्टरनेट राउटरसम्म फैलिएको निवेदनमा उल्लेख छ।
पीडितका अनुसार उक्त घटनाबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। आगलागी भएको ई–स्कुटर वीरगञ्जस्थित कुशवाहा मोटर्सबाट खरिद गरिएको भन्दै विक्रेता पक्षलाई जिम्मेवार ठहर गरी कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराइदिन प्रशासनसमक्ष माग गरिएको छ।
साथै, जिल्ला प्रशासन कार्यालयमार्फत विक्रेता पक्षलाई उपस्थित गराई घटनाको निष्पक्ष छानबिन, क्षतिको यथार्थ मूल्याङ्कन तथा प्रचलित कानुनअनुसार क्षतिपूर्ति दिलाइदिन पनि पीडितले अनुरोध गरेका छन्।

प्रतिक्रिया