
काठमाडौं,१६ असार । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएसँगै आज र भोलि विभिन्न स्थानमा भारीदेखि मुसलधारे वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै सम्भावित वर्षाका कारण हुन सक्ने विपद्प्रति आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
विभागका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढेकाले मनसुनी प्रणाली थप सक्रिय भएको हो।
मौसम पूर्वानुमान महाशाखाले कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। केही क्षेत्रमा अति भारी वर्षा पनि हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
यस्तै, देशका अधिकांश पहाडी तथा तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षा जारी रहने तथा हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार अहिले मनसुनी प्रणाली विशेषगरी लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा बढी सक्रिय देखिएको छ। उनले लुम्बिनी, पश्चिम चुरे र तराई क्षेत्रमा चट्याङको गतिविधि पनि उल्लेखनीय रहेको जानकारी दिएका छन्।
उनका अनुसार कञ्चनपुरको हनुमाननगरमा पछिल्लो ६ घण्टामा १०९ मिलिमिटर वर्षा मापन गरिएको छ। आज राति र भोलि बिहान विशेषगरी लुम्बिनीको पश्चिमी भूभागदेखि सुदूरपश्चिमसम्म थप वर्षा हुने सम्भावना रहेको छ। यद्यपि, मध्य मधेस क्षेत्रमा भने आगामी दुई दिन अत्यधिक वर्षाको सम्भावना कम रहेको उनले बताएका छन्।
लगातारको वर्षाले पहाडी क्षेत्रमा पहिरो, भूक्षय तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। नदी, खोलानालामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम विभागले प्राकृतिक विपद्का कारण जनजीवन, कृषि, पर्यटन तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक पूर्वतयारी गर्न, नदी किनारका निर्माण कार्यमा सावधानी अपनाउन तथा मौसमको अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ।


प्रतिक्रिया