वीरगन्ज :

पर्सामा सशस्त्र प्रहरीको सक्रियता, तस्करीका सामान धमाधम बरामद

श्रेणी : BANNER

2 hours
Pradeep Sah
3.1kViews
1903 Shares

वीरगञ्ज, २ असार । सशस्त्र प्रहरी बल नेपाल, पर्साले विभिन्न स्थानमा सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट परिचालित टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वा सीमा क्षेत्रमा भारतबाट भन्सार छली गरी ई–रिक्सामा ल्याइँदै गरेको विभिन्न सामान बरामद गरेको हो। उक्त क्रममा ४० हजार ८ सय रुपैयाँ बराबरको अगरबत्ती बनाउन प्रयोग हुने कच्चा पदार्थ, २७ हजार ५ सय रुपैयाँ मूल्यको केरा, ४५ हजार रुपैयाँ बराबरको माछा तथा करिब ४ लाख रुपैयाँ मूल्यको ई–रिक्सा नियन्त्रणमा लिइएको छ। प्रहरी टोली पुगेपछि सामान ओसारपसारमा संलग्न व्यक्ति भने फरार भएका थिए।

त्यसै दिन गण हेडक्वार्टर पर्साबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट १ लाख ३० हजार ३४० रुपैयाँ बराबरको चिसो पेय पदार्थसहित एक मोटरसाइकल बरामद गरेको छ। बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।

यता, सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्ज, प्रस्तावित औद्योगिक सुरक्षा बेस जितपुर तथा वीरगञ्ज भन्सार कार्यालयका कम्प्युटर अपरेटर टंकराज ढकाल सहभागी संयुक्त टोलीले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकस्थित एक गोदाममा छापा मारेको थियो। सुरेन्द्र साहको घरको सटर भाडामा लिएर सञ्चालन गरिएको उक्त गोदामबाट भन्सार छली गरी लुकाइछिपाइ राखिएको करिब ३ लाख २५ हजार रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको छ।

बरामद गरिएका सामग्रीमा ४३ कार्टुन (२६२ केजी) सरबत्ती खजुर, ८ कार्टुन (९६ केजी) अफजल मिन्ट टोबाको तथा एक सेट गाडीको बर्नेट रहेका छन्। ती सबै सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

गोदामको थप खानतलासीका क्रममा पछाडिको कोठाबाट अन्दाजी ३ हजार रुपैयाँ मूल्य बराबरको १०० लिटर घरेलु मदिरासमेत फेला परेको थियो। उक्त मदिरा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय जितपुरलाई जिम्मा लगाइएको छ।

त्यसैगरी, सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको टोलीले पर्साको छिपरमाई गाउँपालिका–५ भिष्वा बजार नजिकैको सीमा क्षेत्रबाट १३ हजार २५० रुपैयाँ बराबरका किराना तथा विद्युतीय सामग्रीसहित १ लाख २५ हजार रुपैयाँ मूल्यको मोटरसाइकल बरामद गरेको छ।

यस्तै, बिओपी भिष्वाको टोलीले नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत छिपहरमाई गाउँपालिका–५ भिष्वाबाट ३४ हजार २६० रुपैयाँ बराबरका औषधि तथा इलेक्ट्रोनिक्स सामग्री नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *