श्रेणी : BANNER
वीरगंज (पर्सा), २ असार । वीरगञ्ज महानगरपालिकामा लामो समयदेखि रोकिएको कर्मचारीहरूको तलब भुक्तानी प्रक्रिया अन्ततः अघि बढेको छ। निमित्त नगरप्रमुख इम्तियाज आलमको पहलमा पहिलो चरणमा सयौं कर्मचारीको खातामा तलब रकम पठाउन सुरु गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरका अनुसार प्रारम्भिक चरणमा ४६७ जना कर्मचारीलाई ५ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम तलबस्वरूप निकासा गरिएको छ। लामो समयदेखि पारिश्रमिक नपाएर समस्यामा परेका कर्मचारीहरूका लागि यो निर्णयले ठूलो राहत मिलेको बताइएको छ।
महानगरपालिकाले बाँकी कर्मचारीहरूको तलबसमेत छिट्टै भुक्तानी गर्ने तयारी भइरहेको जनाएको छ। सम्बन्धित कर्मचारीहरूको बैंक खातामा आज–भोलिभित्र रकम जम्मा हुने अपेक्षा गरिएको छ।
नगरप्रमुखको निलम्बन तथा त्यसपछिका प्रशासनिक जटिलताका कारण तलब निकासा प्रक्रिया प्रभावित भएको थियो। सोही कारण कर्मचारीहरूले महिनौँसम्म पारिश्रमिक पाउन सकेका थिए।
तलब वितरण प्रक्रिया पुनः सुचारु भएपछि कर्मचारी वृत्तमा सकारात्मक सन्देश गएको छ। कर्मचारीहरूले लामो समयदेखिको प्रतीक्षापछि तलब प्राप्त गर्न थालेपछि आर्थिक दबाब केही हदसम्म कम हुने विश्वास व्यक्त गरेका छन्।
महानगरपालिकाले प्रशासनिक कामकारबाहीलाई नियमित र प्रभावकारी बनाउँदै बाँकी भुक्तानी प्रक्रिया पनि यथाशीघ्र सम्पन्न गरिने जनाएको छ।

प्रतिक्रिया