वीरगन्ज :

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

श्रेणी : अन्तर्राष्ट्रिय

2 hours
Pradeep Sah
1.8kViews
1086 Shares

काठमाडौं,२४ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठन भएको पहिलो १०० दिनभित्र कुनै पनि विदेशी भ्रमण नगर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयका अनुसार उनले प्रारम्भिक तीन महिना देशभित्रै रहेर सरकारका प्राथमिकता र चुनावी प्रतिबद्धता कार्यान्वयनमा ध्यान केन्द्रित गर्ने योजना बनाएका हुन् ।

दक्षिणी छिमेकी भारतले प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणका लागि चासो देखाए पनि तत्काल भ्रमणको सम्भावना न्यून रहेको बताइएको छ । स्रोतका अनुसार असारअघि प्रधानमन्त्री शाह भारत वा चीन भ्रमणमा नजाने लगभग निश्चित छ ।

सरकार गठनपछिका सुरुआती दिनमा सुकुम्बासी व्यवस्थापन, बजेट तयारी तथा विकास योजनामा केन्द्रित हुनुपर्ने भएकाले विदेश भ्रमणलाई प्राथमिकतामा नराखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । जेठ १५ मा बजेट प्रस्तुत गर्ने तयारी र विभिन्न आन्तरिक कामका कारण पनि भ्रमण तत्काल सम्भव नरहेको बताइएको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देश पठाउँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्यको अपेक्षा व्यक्त गरेका थिए । त्यसपछि दुवै देशबीच उच्चस्तरीय भ्रमणको विषयमा प्रारम्भिक छलफल भए पनि औपचारिक मिति तय भइसकेको छैन ।

परराष्ट्र मन्त्रालयले भने सम्भावित भ्रमणका एजेन्डा र कूटनीतिक तयारीबारे आन्तरिक गृहकार्य जारी राखेको जनाएको छ । विशेषगरी सीमा, व्यापार, ऊर्जा, पूर्वाधार तथा द्विपक्षीय सहकार्यसँग सम्बन्धित विषयहरूमा तयारी भइरहेको स्रोतको भनाइ छ ।

यसैबीच भारतीय विदेश सचिव विक्रम मिश्री वैशाख अन्तिम साता नेपाल भ्रमणमा आउने सम्भावना रहेको छ । उनको भ्रमणपछि नेपाल–भारत उच्चस्तरीय राजनीतिक भेटवार्ताको तयारीले गति लिन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *