वीरगन्ज :

पेट्रोलमा १७ र डिजेलमा २५ रुपैयाँ वृद्धि, निगमको नयाँ मूल्य आजदेखि लागू

श्रेणी : BANNER

19 hours
Pradeep Sah
2.9kViews
1922 Shares

काठमाडौँ,२७ चैत । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा निगमको घाटा चुलिएपछि नयाँ मूल्य समायोजन गरिएको हो।

नयाँ दरअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर २५ रुपैयाँ बढाइएको छ। यससँगै पेट्रोलको मूल्य अब प्रतिलिटर २१६ रुपैयाँ ५० पैसादेखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेल २०४ रुपैयाँ ५० पैसादेखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासमा पनि प्रति सिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यासका लागि २०१० रुपैयाँ तिर्नुपर्नेछ। आन्तरिक हवाई इन्धनमा समेत प्रति लिटर ६ रुपैयाँ बढाइएको छ।

निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन गर्दा पनि अझै ठूलो घाटा रहेको छ। हाल पेट्रोल, डिजेल र ग्यासमा क्रमशः प्रति लिटर तथा प्रति सिलिन्डर उल्लेख्य घाटा कायम रहेको जनाएको छ।

निगमले इन्धन आपूर्ति सहज राख्न मूल्य बढाउनु बाध्यता भएको स्पष्ट पारेको छ। घाटा निरन्तर बढिरहेमा इन्डियन आयल कर्पोरेसन लाई भुक्तानी गर्न कठिन हुने र आपूर्ति व्यवस्थामा समस्या आउन सक्ने चेतावनीसमेत दिएको छ।

मूल्य वृद्धि भए पनि निगमको घाटा पूर्ण रूपमा कम हुन सकेको छैन। अझै पाक्षिक रूपमा अर्बौँ रुपैयाँ घाटा रहने प्रक्षेपण गरिएको छ।

इन्धनको मूल्य बढेसँगै बजारमा महँगी थप बढ्ने चिन्तामा सर्वसाधारण परेका छन्। निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *