वीरगन्ज :

जीतपुरसिमरा नगर अस्पतालमा पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण सेवा सुरु, महिलालाई ठूलो राहत

श्रेणी : मधेस

4 hours
Pradeep Sah
1.9kViews
1095 Shares

वीरगन्ज,१९ चैत । जीतपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत रहेको जीतपुरसिमरा नगर अस्पतालले महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर पहिचान गर्ने निःशुल्क स्क्रिनिङ सेवा सुरु गरेको छ। अस्पताल प्रशासनका अनुसार यो सेवा प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार सञ्चालन गरिनेछ। विशेषगरी ३० वर्षभन्दा माथिका महिलाहरूलाई लक्षित गरिएको यो कार्यक्रमबाट ठूलो संख्यामा सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गइरहेको सन्दर्भमा प्रारम्भिक चरणमै रोग पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। सेवा पूर्ण रूपमा निःशुल्क रहेको छ।

परीक्षणका लागि अग्रिम अपोइन्टमेन्ट आवश्यक नपर्ने भएकाले तोकिएको समयमा अस्पतालमै पुगेर सेवा लिन सकिने व्यवस्था गरिएको छ। यसले ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गका महिलाहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच दिने विश्वास गरिएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार स्क्रिनिङ विधि सरल र प्रभावकारी भएकाले प्रारम्भिक अवस्थामै क्यान्सर पत्ता लगाउन सहयोग पुग्छ, जसले उपचार सफल हुने सम्भावना बढाउँछ। अस्पतालले आवश्यक परेमा थप परीक्षण, उपचार तथा परामर्श सेवा पनि उपलब्ध गराउने जनाएको छ। साथै, नियमित स्वास्थ्य जाँच गराउन र सचेत रहन महिलाहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *