वीरगन्ज,०५ चैत । लामो समयदेखि उपेक्षित र जीर्ण अवस्थामा रहेको वीरगञ्जको नारायणी रंगशालाको पुनर्निर्माण कार्य अन्ततः सुरु भएको छ। बिहीबार मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले शिलान्यास गरेसँगै रंगशालाको ‘ब्लक सी’ अन्तर्गत प्याराफिट पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो। चालू आर्थिक वर्ष २०८२/८३ मा विनियोजित ४ करोड रुपैयाँ बजेटअन्तर्गत काठमाडौंस्थित अंकुर निर्माण सेवाले करिब २ करोड १७ लाख रुपैयाँ (भ्याट बाहेक) मा ठेक्का लिएपछि काम सुरु भएको हो।
राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर शिवचन्द्र यादवका अनुसार पहिलो चरणमा जीर्ण प्याराफिटहरू डोजरमार्फत भत्काउने काम सुरु भइसकेको छ र त्यसपछि नयाँ संरचना निर्माण गरिनेछ। पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुले पनि पुराना संरचना हटाएर आधुनिक पूर्वाधार निर्माण गरिँदै रहेको बताएका छन्। करिब ३५ हजार दर्शक अट्ने क्षमता रहेको यो रंगशाला काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठूलो रंगशाला मानिन्छ, तर मर्मत अभावका कारण पछिल्ला वर्षहरूमा प्रयोगविहीन बन्दै गएको थियो।
इतिहास बोकेको यस रंगशालाको निर्माण २०४२ सालमा सम्पन्न भई तत्कालीन राजा वीरेन्द्र शाहबाट उद्घाटन गरिएको थियो। एक समय राष्ट्रियस्तरका प्रतियोगिताहरूको प्रमुख केन्द्र रहेको यो रंगशाला पछिल्लो एक दशकदेखि उपेक्षामा परेको थियो, जसका कारण खेलाडी र खेलप्रेमीहरूले पुनर्निर्माणको माग गर्दै आएका थिए। अब पुनर्निर्माण सुरु भएसँगै रंगशालालाई पुनः सक्रिय बनाउने र वीरगञ्जलाई खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया