सिरहा, २९ फागुन । सिरहाको औरही गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रको पोखरीमा मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृतक औरही–५ की करिब २२ वर्षीया खुश्बु यादव रहेको पुष्टि भएको हो।
प्रहरीका अनुसार पोखरीमा भेटिएको शव मृतककी सासु चन्द्रकला यादवले आफ्नी बुहारी खुश्बु यादवको भएको सनाखत गरेकी हुन्। खुश्बुका श्रीमान् सरोजकुमार यादव हाल वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्।
प्रहरीको प्रारम्भिक जानकारीअनुसार खुश्बु मंगलबार दिउँसो ‘घाँस काट्न जान्छु’ भन्दै बोरा र हँसिया लिएर घरबाट निस्किएकी थिइन्। लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। त्यसक्रममा बुधबार बिहान नजिकैको पोखरीमा उनको शव घोप्टो परेको अवस्थामा तैरिरहेको फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलको निरीक्षण गर्दा पोखरीको डिलमा मृतकले बोकेको बोरा, हँसिया र चप्पलसमेत भेटिएको बताइएको छ। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।
पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे स्पष्ट भन्न नसकिने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
परिवारका अनुसार श्रीमान् विदेशमा रहेका कारण खुश्बु प्रायः माइतीमै बस्ने गर्थिन्। उनी करिब १५ दिनअघि ससुरा लिन आएपछि ससुराली फर्किएकी थिइन्।

प्रतिक्रिया