वीरगन्ज :

अनुभव र उपलब्धिको दाबी गर्दै सूर्य चिन्हमा मत माग्न घरदैलोमा प्रदीप यादव, पर्सा–१ मा चुनावी प्रतिस्पर्धा तीव्र

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.0kViews
1178 Shares

वीरगंज (पर्सा), १५ फागुन ।पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले शुक्रबार वीरगञ्ज महानगरपालिका–१५ अन्तर्गत लक्ष्मणवा र भेडीयाही टोलमा घरदैलो तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उनले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। आफू विगतमा काम गरेर देखाइसकेको नेतृत्व भएको उल्लेख गर्दै उनले विकास र समृद्धिको स्पष्ट योजना आफूसँग रहेको दाबी गरे।

“काम गर्ने नेतृत्वलाई रोज्नुहोस्”

यादवले चुनावी मैदानमा रहेका प्रतिस्पर्धीहरूलाई लक्षित गर्दै चुनावका बेला मात्रै देखिने र आश्वासन बाँड्ने प्रवृत्तिबाट सचेत रहन मतदातालाई आग्रह गरे। उनले आफू पर्सा–१ का हरेक समस्या र आवश्यकतासँग परिचित रहेको दाबी गर्दै विगतमा दुई पटक सांसदको रूपमा निर्वाचित हुँदा धेरै आधारभूत समस्या समाधान गरेको उल्लेख गरे।

“बाँकी रहेका काम पूरा गर्न फेरि अवसर दिनुहोस्,” भन्दै उनले मतदातासँग समर्थन मागे।

पूर्वाधार विकासमा उपलब्धिको दाबी

पूर्वमन्त्रीसमेत रहेका यादवले आफ्नो कार्यकालमा सडक निर्माण, विद्यालय तथा अस्पताल भवन निर्माण, धार्मिक तथा सामुदायिक संरचना निर्माणजस्ता काम सम्पन्न गरेको दाबी गरे। खानेपानी समस्यालाई प्राथमिकतामा राख्दै संकटको समयमा छिटो बोरिङ जडान गरेर राहत उपलब्ध गराएको र दीर्घकालीन समाधानका लागि ठूलो बजेटका योजना ल्याएको पनि उनले बताए।

उनले संसद्मा पटक–पटक पर्साका मुद्दा उठाउँदै जिल्लावासीको आवाज बनेको दाबीसमेत गरे।

स्थानीयको स्वागत र समस्या प्रस्तुत

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए। सो अवसरमा नागरिकहरूले आफ्ना क्षेत्रका समस्या तथा अपेक्षा खुलेर राखेका थिए। यादवले ती समस्याहरू समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा पर्सा–१ मा विगतको काम, अनुभव र आगामी योजना मुख्य बहसको विषय बन्दै गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *