वीरगन्ज :

बढनिहारमा परिवर्तनको आँधी : कानुको घरदैलोमा जनसमर्थनको विस्फोट

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.1kViews
1207 Shares

वीरगंज,०५ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–३ बढनिहारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानु ले सञ्चालन गरेको घरदैलो कार्यक्रम उल्लेखनीय उत्साहका साथ सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाको सक्रिय सहभागिताले बढनिहार क्षेत्रमा राजनीतिक परिवर्तनको चाहना बलियो बन्दै गएको संकेत दिएको छ।
घरदैलोका क्रममा जेष्ठ नागरिकहरूले खुला रूपमा उम्मेदवार कानुप्रति समर्थन जनाउँदै “अब पुरानो राजनीति होइन, नयाँ नेतृत्व चाहिन्छ” र “भोट सन्तानको सुरक्षित भविष्यका लागि” भन्ने नारासमेत घन्काएका थिए। लामो समयदेखि एउटै शैलीको राजनीतिबाट असन्तुष्ट स्थानीय मतदाताहरू यसपटक सचेत निर्णयतर्फ अग्रसर देखिएका छन्।
कार्यक्रममा बुद्धिजीवी, जेष्ठ नागरिक, महिला, युवा तथा कृषक समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले यसपालिको निर्वाचनले समाजमा सकारात्मक मोड ल्याउने विश्वास व्यक्त गर्दै काममुखी, जवाफदेही र जनतासँग नजिक रहने नेतृत्व आवश्यक भएको धारणा राखे।
घरदैलो भेटघाटका क्रममा उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै बढनिहार र आसपासका क्षेत्रका प्रमुख समस्या पहिचान गरेका थिए। उनले अस्पतालको अभाव, खेलकुद पूर्वाधारको कमी तथा किसानले भोग्दै आएको मल र सिँचाइको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कानुले भने, “यहाँको जीवनको मेरुदण्ड कृषि हो। किसानलाई समयमै मल र पानी उपलब्ध गराउन सकेनौं भने विकास सम्भव छैन। निर्वाचित भएपछिको पहिलो प्राथमिकता यही हुनेछ।”
युवालाई लक्षित गर्दै उनले स्थानीय स्तरमै पशुपालन तथा कृषि सम्बन्धी प्राविधिक सीप तालिम सञ्चालन गर्ने, स्वरोजगारका अवसर सिर्जना गर्ने र गाउँमै रोजगारीको वातावरण बनाउने योजना अघि सारे। यसले वैदेशिक रोजगारीमा जान बाध्य युवालाई आफ्नै ठाउँमा भविष्य निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ।
त्यस्तै, प्रभावकारी अस्पताल व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच, र शिक्षाको गुणस्तर सुधार रास्वपाका मुख्य एजेन्डा भएको कानुले स्पष्ट पारे।
उनले जोड दिए, “जनताको आधारभूत आवश्यकता पूरा नगरी विकासको नारा लगाउनुको कुनै अर्थ छैन।”
घरदैलो कार्यक्रमपछि बढनिहार क्षेत्रमा रास्वपाप्रति आकर्षण बढ्दै गएको र परिवर्तनप्रतिको अपेक्षा स्पष्ट रूपमा देखिएको स्थानीय प्रतिक्रिया छ। युवादेखि जेष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले पर्सा–२ मा चुनावी माहोल थप सशक्त बन्दै गएको संकेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *