जनकपुरधाम,०६ साउन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा सशक्त राजनीतिक संगठन निर्माण गर्न सके पार्टीसँगै समग्र मधेश आन्दोलनले नयाँ गति लिने बताएका छन्। उनले मधेशमा पार्टी कमजोर भए देश र कम्युनिस्ट आन्दोलन दुवैले गम्भीर राजनीतिक चुनौती सामना गर्नुपर्ने चेतावनी पनि दिएका छन्।
जनकपुरधाममा आयोजित नेकपा मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण एवं एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले मधेश जनसंख्या, भूगोल र राजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण प्रदेश भएकाले यहाँ पार्टी निर्माणलाई विशेष प्राथमिकता दिइएको बताए।
उनले मधेशमा संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण र कार्यकर्तालाई सक्रिय बनाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिँदै बलियो संगठन नै आन्दोलन र परिवर्तनको आधार हुने धारणा राखे।
प्रचण्डले भने, “मधेशमा पार्टी बलियो बनाउन सक्यौँ भने मधेश आन्दोलन र समग्र राजनीतिक परिवर्तनका लागि शक्तिशाली आधार तयार हुन्छ। तर यहाँ संगठन निर्माणमा सफल हुन सकेनौँ भने त्यसको असर देश र कम्युनिस्ट आन्दोलन दुवैले बेहोर्नुपर्ने अवस्था आउन सक्छ।”
उनले नवनिर्वाचित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराउँदै संगठनलाई जनतासँग जोडेर अघि बढ्न निर्देशन दिए।
कार्यक्रममा प्रचण्डले पार्टीका नेता–कार्यकर्तासँग विभिन्न चरणमा भएको छलफलबाट प्राप्त सुझावलाई समेटेर संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै मधेशलाई पार्टी निर्माणको प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने बताए।

प्रतिक्रिया