वीरगन्ज :

स्वास्थ्य, शिक्षा र कृषिमा सुधारको प्रतिबद्धता गर्दै सुशील कानुको घरदैलो अभियान

श्रेणी : मधेस

5 hours
Pradeep Sah
2.4kViews
1833 Shares

वीरगंज,०३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–६ को चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
घरदैलोका क्रममा उम्मेदवार कानुले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरे। उनले स्थानीय समुदायसँग भेटघाट गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी र कृषिसम्बन्धी समस्या, आवश्यकता तथा जनअपेक्षाबारे जानकारी लिएका थिए। स्थानीयसँगको संवादमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार बनेपछि आधारभूत सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
कानुले स्वास्थ्य सेवा सुदृढीकरण, गुणस्तरीय शिक्षामा समान पहुँच र युवाका लागि दिगो रोजगारी सिर्जनालाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। “स्वास्थ्य र शिक्षा मजबुत भए मात्रै समाज र राष्ट्र आत्मनिर्भर बन्छ,” उनले भने, “स्थानीय तहमा प्रभावकारी सेवा प्रवाह र युवालाई रोजगारी तथा उद्यमशीलतासँग जोड्ने कार्यक्रम ल्याइनेछ।”
उनले कृषकका समस्या समाधानका लागि समयमै मल उपलब्ध गराउने, सिँचाइ सुविधा विस्तार गर्ने तथा उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइने जानकारी दिए। साथै युवालाई सीपमूलक तालिम, स्वरोजगार र उद्यमशीलतामा आकर्षित गर्ने योजनालाई उच्च प्राथमिकतामा राखिने उनले बताए।
घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले देशमा नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेही नेतृत्वको खाँचो औंल्याउँदै परिवर्तनको एजेन्डा बोकेको रास्वपाप्रति विश्वास बढ्दै गएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यसपटक एकजुट भएर रास्वपालाई विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरे।
उम्मेदवार कानुले समावेशी विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेर अघि बढिरहेको रास्वपालाई मजबुत बनाउन सबै मतदातालाई साथ दिन आग्रह गरे। जनताबाट प्राप्त सुझाव र अपेक्षालाई आफ्नो चुनावी घोषणापत्र तथा भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धता समेत उनले जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *