वीरगन्ज :

शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारको प्रतिबद्धतासहित सुशील कानुको घरदैलो अभियान तीव्र

श्रेणी : मधेस

8 hours
Pradeep Sah
2.6kViews
1074 Shares

वीरगञ्ज, २७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने रणनीतिलाई थप तीव्रता दिएका छन्। यही क्रममा उनले पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरको धानुक टोलमा घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलो अभियानका दौरान उम्मेदवार कानुले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले जनतासँग समस्या, आवश्यकता र विकासका प्राथमिकता विषयमा खुला छलफल गरेका थिए। स्थानीयवासीसँगको संवादमा उनले आफू निर्वाचित भए पर्साको समग्र विकासलाई नीति निर्माणको मूल आधार बनाएर परिणाममुखी काम गर्ने स्पष्ट प्रतिबद्धता जनाए।

उनले पर्सा जिल्लामा लामो समयदेखि थाँती रहेका शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासका चुनौतीहरूलाई समाधान गर्न दीर्घकालीन नीतिगत सुधार आवश्यक रहेको औंल्याए। विशेषगरी युवाहरूको विदेश पलायनलाई रोक्दै जिल्लाभित्रै रोजगारीका अवसर सिर्जना गर्न वैदेशिक लगानी आकर्षित गर्ने, औद्योगिक तथा उद्यमशील गतिविधि विस्तार गर्ने तथा युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने आफ्नो प्राथमिक एजेन्डा रहेको उनले बताए।

उम्मेदवार कानुले पर्साको कृषि क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउन बजार व्यवस्थापनलाई विशेष प्राथमिकता दिने योजना प्रस्तुत गरे। पर्सागढी क्षेत्रमा उत्पादन हुने तरकारी तथा कृषिजन्य वस्तुलाई वीरगञ्जसहित देशका प्रमुख बजारसम्म सहज रूपमा पुर्‍याउने दिगो आपूर्ति प्रणाली विकास गर्ने विषयलाई उनले प्रमुख लक्ष्यका रूपमा राखेका छन्। यसले किसानको आम्दानी वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढ हुने उनको दाबी छ।

त्यसैगरी उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार अपरिहार्य रहेको उल्लेख गर्दै सर्वसुलभ, पहुँचयोग्य र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सेवाहरूलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने विषयमा आफू केन्द्रित रहने उनको भनाइ थियो।

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीले क्षेत्रका सडक, रोजगार, कृषि बजार व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार लगायतका समस्याहरू उम्मेदवारसमक्ष राखेका थिए। सो क्रममा कानुले जनताको सुझाव, अपेक्षा र आवश्यकता आफ्नो चुनावी घोषणापत्र तथा भावी कार्ययोजनामा समेट्ने आश्वासन दिए।

स्थानीय स्तरमा उल्लेख्य जनसहभागिता देखिएको उक्त कार्यक्रममा रास्वपाले प्रत्यक्ष जनसंवादलाई चुनावी अभियानको प्रमुख आधार बनाउँदै विकास, सुशासन र अवसर विस्तारको नारासहित चुनावी गतिविधि तीव्र बनाएको देखिएको छ। पर्सा–२ मा नयाँ राजनीतिक विकल्पको रूपमा उभिन खोजिरहेको रास्वपाको रणनीति मतदाताबीच कत्तिको प्रभावकारी हुन्छ भन्ने विषय अहिले चासोको केन्द्रमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *