वीरगन्ज :

टाउन हल भेलाले दियो एमालेमा नयाँ ऊर्जा र जनसमर्थनको संकेत

श्रेणी : BANNER

1 week
Pradeep Sah
2.3kViews
1036 Shares

वीरगंज (पर्सा), २० माघ । वीरगञ्जस्थित टाउन हलमा मंगलबार आयोजित नेकपा (एमाले) पर्सा जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलाले पार्टीभित्र नयाँ ऊर्जा, एकता र जनसमर्थनको सन्देश दिएको छ। कार्यक्रममा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षता तथा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्य रहेको थियो।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू, जनप्रतिनिधिहरू, विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। कार्यक्रममा पार्टी संगठनलाई थप मजबुत बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने र आगामी राजनीतिक यात्रालाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

कार्यक्रमकै अवसरमा बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह तेलीसहित जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा जसपाका विभिन्न तहका नेता–कार्यकर्ताहरूले एमालेमा प्रवेश गरेका छन्। ठूलो संख्यामा भएको उक्त प्रवेशलाई एमालेले जनताको भरोसा र पार्टीप्रतिको बढ्दो आकर्षणको संकेतका रूपमा लिएको छ। सहभागीहरूले विकास, स्थायित्व र समृद्धिको लक्ष्य पूरा गर्न एमाले नै सक्षम शक्ति भएको धारणा व्यक्त गरेका थिए।

यसैबीच, केन्द्रीय उपाध्यक्ष थापा ‘बादल’लाई वीरगञ्ज नगर कमिटी कार्यालयमा पनि भव्य स्वागत गरिएको थियो। वीरगञ्ज आगमनका क्रममा उनलाई एमालेका केन्द्रीय सदस्य विजय सरावागी, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, वीरगञ्ज नगर कमिटीका पदाधिकारी तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले फूलमालासहित स्वागत गरेका थिए।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापा ‘बादल’ले पार्टी संगठनलाई थप सुदृढ बनाउनुपर्ने, जनताको विश्वास जित्ने व्यवहारिक राजनीति गर्नुपर्ने र आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न सबै नेता–कार्यकर्ताले एकजुट भएर सक्रिय हुनुपर्ने बताए।

कार्यक्रममा एमाले पर्सा जिल्ला कमिटी, वीरगञ्ज नगर कमिटी तथा विभिन्न भातृ संगठनका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले समृद्ध पर्सा र समुन्नत नेपाल निर्माणको लक्ष्य पूरा गर्न दृढ प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *