वीरगन्ज :

सरकारले मधेसीपछि जेनजीलाई पनि झुक्क्याउँदैछ : जसपा अध्यक्ष यादव

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.3kViews
1912 Shares

जनकपुर,१४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरूले विगतमा मधेसी जनतालाई ठगेजस्तै अहिले जेनजी युवाहरूलाई पनि भ्रममा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। जसपा नेपाल मधेस प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको विशाल जनप्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र कम्युनिस्ट दलहरूको नीतिकै कारण मुलुक गम्भीर आर्थिक र सामाजिक संकटमा फसेको दाबी गरे।

यादवका अनुसार विगत ३५ वर्षदेखि सत्तामा रहेका दलहरूले उदारीकरण र निजीकरणको नाममा १३५ वटा कलकारखाना बन्द गराए, जसका कारण देश ऋणको भारी बोझमा परेको छ। सत्तारुढ दलहरूको गलत शासनकै कारण शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र धराशायी बनेको र भ्रष्टाचार चरम सीमा नाघेको उनको आरोप छ।

मुलुकमा बढ्दै गएको निराशाकै परिणामस्वरूप जेनजी युवाहरू विद्रोहमा उत्रिन बाध्य भएको भन्दै उनले भने, “सिंहदरबार र ऐतिहासिक संरचनामा क्षति पुग्नु, नेताहरूका घर जलाइनु र सुरक्षाकर्मीको सहारामा भाग्नुपर्ने अवस्था आउनु सत्ताको गम्भीर असफलता हो।” उनले सरकारले विगतमा मधेसी जनताको भावना बेवास्ता गरेजस्तै अहिले जेनजी युवाहरूलाई पनि झुक्याउने रणनीति अपनाइरहेको आरोप दोहोर्याए।

संविधान संशोधन र प्रदेशहरूको पुनर्संरचनामा जोड दिँदै यादवले मधेस ८ जिल्ला मात्र नभई २२ जिल्लाको भूगोल समेटिएको क्षेत्र भएको स्मरण गराए। वर्तमान संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग गरे।

उनले महँगो निर्वाचन प्रणालीका कारण सामान्य नागरिक र उत्पीडित समुदायले चुनाव लड्न नसक्ने अवस्था सिर्जना भएको बताउँदै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था आवश्यक रहेको धारणा राखे। साथै, हालको निर्वाचन क्षेत्र संरचनाले ६० प्रतिशत जनसङ्ख्या भएका मधेसीलाई १० प्रतिशतमा सीमित गरेर विभेद गरिएको आरोप समेत उनले लगाए।

संघीयता, सुशासन र सामाजिक न्यायको मागसहित आयोजित उक्त विरोध सभामा मधेसका विभिन्न जिल्लाबाट हजारौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। जनकपुरधामको तिरहुतिया गाछीमा भएको सभामा सहभागीहरूले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै असन्तुष्टि प्रकट गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *