वीरगंज (पर्सा), १० पुस । दिव्य विकास श्रोत केन्द्र पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत जिल्ला स्तरीय अनुगमन बिहीबार सम्पन्न भएको छ । कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले गरिएको अनुगमनमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाका विभिन्न वडामा पुगेर स्थलगत अवलोकन गरिएको थियो ।
अनुगमन टोलीले गाउँपालिका वडा नम्बर १, २ र ४ का विभिन्न टोलहरूमा पुगेर कार्यक्रमबाट हासिल भएका उपलब्धि, सामाजिक आर्थिक प्रभाव तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे लाभान्वित परिवारहरूसँग प्रत्यक्ष भेटघाट र अन्तर्क्रिया गरेको हो । टोलीले लक्षित वर्गसँग भलाकुसारी गर्दै कार्यक्रमले उनीहरूको जीवनस्तरमा पारेको परिवर्तनबारे जानकारी लिएको थियो ।
कार्यक्रमअन्तर्गत वडा नम्बर २ स्थित श्री नेरा प्राथमिक विद्यालय, लक्ष्मीपुरमा बालमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले खेल सामग्री, शौचालय मर्मत तथा बालविकास शिक्षण सिकाइमा सहयोग पुग्ने शैक्षिक सामग्री वितरण गरिएको छ । यसका साथै, सोही वडाकी रिमाकुमारी साहलाई तरकारी खेती प्रवद्र्धनका लागि ३० हजार रुपैयाँ नगद, मोटर तथा बिउबिजन सहयोग प्रदान गरिएको छ ।
यस्तै, बसन्ती देवी रामलाई किराना पसल सञ्चालनका लागि २५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराइएको छ । लाभान्वित परिवारहरूले कार्यक्रमबाट प्राप्त सहयोगपछि आफ्नो आर्थिक अवस्था सुधार भएको र आत्मनिर्भर बन्न सफल भएको प्रतिक्रिया अनुगमन टोलीसमक्ष व्यक्त गरेका छन् ।
यस्तै, वडा नम्बर १ मा गठन भएको महिला श्रमिक समूहको सक्रियताले श्रमिकहरूको ज्यालामा उल्लेख्य वृद्धि भएको पाइएको छ । यसअघि दैनिक १५० देखि २५० रुपैयाँसम्म ज्याला पाउँदै आएका श्रमिकहरूले हाल ५०० रुपैयाँसम्म पाउन थालेको महिला श्रमिकहरूले जानकारी दिएका छन् । सो वडामा पनि कार्यक्रमअन्तर्गत केही महिलालाई आर्थिक सहयोग प्रदान गरिएकाले उनीहरू तरकारी खेती तथा किराना पसल सञ्चालनमार्फत नियमित आम्दानी गर्न सफल भएका छन् ।
महिला श्रमिक समूहकी अगुवा आलमा खातुनले कार्यक्रम लागू भएपछि महिलाहरूको आर्थिक रूपान्तरण भएको र उनीहरू आफ्नै खुट्टामा उभिन सक्षम बनेको बताइन् । अनुगमन टोलीले वडा नम्बर ४ स्थित श्री नेरा माध्यमिक विद्यालयमा किशोरीहरूका लागि निर्माण गरिएको आराम कक्ष तथा छात्रामैत्री शौचालयको समेत अवलोकन गरेको थियो । यसले विद्यालयमा किशोरीमैत्री वातावरण निर्माणमा कार्यक्रमको योगदान देखाएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीमा जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, उपसभापति परन पटेल, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो थारु, वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरे, नेपाल पत्रकार महासंघ पर्साका प्रतिनिधि रितेश झा लगायतको सहभागिता रहेको थियो । यसैगरी, दिव्य विकास श्रोत केन्द्रका महासचिव सोनालाल राउत, कोषाध्यक्ष देवनाथ ठाकुर, कार्यकारी निर्देशक रामाकान्त पटेल, कार्यक्रम संयोजक रिना चौधरी, फोकल पर्सन तथा स्थानीय अधिकार कार्यक्रमका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
अनुगमनमा सहभागी जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफले स्थानीय अधिकार कार्यक्रमबाट विशेषगरी पटेर्वा सुगौलीका महिलाहरू तथा लक्षित परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए । गाउँपालिका अध्यक्ष दिनेश चौधरीले दिव्य विकास श्रोत केन्द्रले आफ्नो पालिकालाई कार्यक्रमका लागि छनोट गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे ।



प्रतिक्रिया