श्रेणी : BANNER
काठमाडौं,०२ मंसिर । व्यापारी तथा राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको सोमबार राति भएको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दलले तत्काल देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। मंसिर ७ गते प्रदर्शन गर्ने तयारी रहे पनि प्रसाईंलाई “अपहरण शैलीमा” पक्राउ गरिएको आरोप लगाउँदै पार्टी नेतृत्वले आजैबाट संघर्षमा उत्रिने चेतावनी दिएको हो।
नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङाले सरकारको यस कदमलाई “शान्ति भंग गर्ने कार्य” भन्दै प्रसाईंको तत्काल, विना सर्त र ससम्मान रिहाइको माग गरेका छन्।उनका अनुसार पहिलो चरणमा काठमाडौंसहित देशभरका जिल्ला प्रशासन कार्यालय (सीडीओ)मा ध्यानाकर्षणपत्र बुझाइनेछ।
थाम्सुहाङले भने–”हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरणजस्तै शैलीमा समातेर सरकारले दमनको संकेत दिएको छ। अब प्रतीक्षा गर्दैनौँ, आजैबाट सडक आन्दोलन सुरु हुन्छ।”
प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। उनी यसअघि १५ चैतमा हिंसात्मक संघर्षपछि पक्राउ परेका थिए र अदालतको आदेशमा रिहा भएका थिए।
राजतन्त्र समर्थक अभियान सञ्चालन गर्दै आएका प्रसाईंले बैंक ऋण मिनाहा गर्नुपर्ने, संविधान पुनर्लेखन लगायतका मागसहित मंसिर ७ गतेदेखि आन्दोलन थाल्ने घोषणा गरेका थिए। तर हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पुनः पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
महामन्त्री थाम्सुहाङले चेतावनी दिए–”यदि सरकार पछि हटेन भने यसको अन्त्य हामीले सडकमै लेख्नेछौं।”

प्रतिक्रिया