
श्रेणी : BANNER
काठमाडौं,०८ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्ने योजना अघि सारेका छन्।
उनका अनुसार सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर शिक्षाबाट वञ्चित हुन नदिन मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ। उनले मंगलबार मन्त्रालयमा छलफल हुँदै आएको विषयसमेत सार्वजनिक गर्दै, “अब प्रत्येक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षक हुने व्यवस्था गर्न निर्देशन दिएको छु,” भने।
अर्थ मन्त्रालयको स्वीकृति लिएपछि मात्र शिक्षा तथा मानवस्रोत विकास केन्द्रले नयाँ दरबन्दी थप गर्न सक्ने व्यवस्था छ। सामुदायिक विद्यालयमा पछिल्लो २० वर्षदेखि नयाँ दरबन्दी थप नभएको तथ्याङ्क छ।
त्यसैगरी, मन्त्री पुनले विश्वविद्यालय र शिक्षण संस्थालाई परीक्षापछि तीन महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत, “८ महिना वा १ वर्षपछि नतिजा निकाल्नु विद्यार्थीको लागि अपूरणीय क्षति हो। अब तीन महिनाभन्दा ढिला गर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिनेछ,” स्पष्ट पारेका छन्।
त्रिभुवन विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पुनले कीर्तिपुर क्याम्पस क्षेत्रलाई आकर्षक बनाउन झाडी फाँडेर बगैंचा र फुटपाथ निर्माण गर्न निर्देशन दिएका छन्। तर, ठूला रुख भने काट्न नहुने स्पष्ट उल्लेख गरेका छन्।


प्रतिक्रिया