
श्रेणी : मधेस
काठमाडौँ,०९ भदौ । असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेशका मन्त्री र सचिवहरू सम्मिलित विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो।
निर्णयअनुसार प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्न इम्बोस्ड नम्बर अनिवार्य हुने छ। यो निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले प्राविधिक सहयोग गर्ने जनाएको छ। साथै, गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीमार्फत नियमन गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।
बैठकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम भदौ मसान्तभित्र सुरु गर्न सुरक्षा मुद्रण केन्द्रलाई आग्रह गर्ने निर्णय पनि गरेको छ। केन्द्र र विभागबीच गत जेठ ९ गते सम्झौता भए पनि छपाइ सुरु नभएकाले ढिलाइ भएको हो।
सरकारले निर्धारण गरेको इम्बोस्ड नम्बर प्लेटको शुल्क महँगो भयो भनेर आलोचना भइरहेका बेला पुरानै शुल्कलाई निरन्तरता दिइएको छ । मोटरसाइकलमा साधारण नम्बरप्लेट लगाउँदा लाग्ने शुल्कभन्दा तीन गुना महँगो पर्न जान्छ । अन्य ठूला सवारीका लागि पनि साधारण प्लेटको तुलनामा चर्को शुल्क छ ।
विभाग भने अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्यअनुसार खासै महँगो शुल्क नभएको दाबी गर्छ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्देशिकाअनुसार दुईपांग्रे सवारीका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । तीनपांग्रेका लागि २ हजार ९ सय रुपैयाँ, चारपांग्रेका लागि ३ हजार २ सय रुपैयाँ र ठुला सवारीका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया